काठमाडौं, असोज १५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्प्रति उत्तरदायी बन्न आग्रह गर्नुभएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै आङ्देम्बेले प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाँदा संसद्लाई जानकारी नगराएको र फर्किएपछि पनि संसद्मा आएर जानकारी नगराएको भन्दै प्रश्न उठाउनुभएको हो । प्रधानमन्त्री संसद्मा उपस्थित नभई सांसदहरूले उठाएका प्रश्नबाट भाग्न नमिल्ने उहाँले बताउनुभयो ।
‘प्रधानमन्त्री के काममा व्यस्त हुनुहुन्छ, त्यो थाहा हुनुपर्दैन ? के संसद् आफूलाई मन परेको बेला आउने, मन नपरेको बेला उठेर जाने मधुशालाजस्तै हो ? किमार्थ पनि होइन,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने र उपस्थित हुन नसक्ने भए त्यसको कारणबारे जानकारी दिनुपर्ने उहाँको भनाइ थियो । ‘संसद्लाई सम्मान गर्नुस् । संसद्मा उठेका प्रश्नलाई सम्मान गर्नुस् । यसले तपाईँलाई कमजोर बनाउँदैन, बलियो नै बनाउँछ,’ उहाँले भन्नुभयो ।
संसद् लोकतन्त्रको पाठशाला भएको उल्लेख गर्दै आङ्देम्बेले परम्परा तोड्ने नाममा गलत परम्परा बसाल्न नहुने बताउनुभयो । ‘सबै परम्परालाई तोड्छु, भत्काउँछु भन्दा आफैँ बुमर्याङमा पर्नुहोला,’ उहाँले चेतावनी दिनुभयो ।
आङ्देम्बे प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद तथा संसदीय दलका नेता हुनुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्