जनता टाइम्स

१५ आश्विन २०८३, बिहीबार १३:३५

एमाले सांसदको प्रश्न– ‘बालेन सरकार कस्तो ?’, रास्वपा सांसदको जवाफ– ‘सबैलाई सुन्ने र थुन्ने सरकार’


काठमाडौं, असोज १५ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार कस्तो हो भन्ने विषयमा बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्ष र सत्तापक्षका सांसदबीच सवालजवाफ भएको छ ।

बैठकमा नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले संसद्मा बहुमतप्राप्त संसदीय दलका नेता प्रधानमन्त्री भएकाले वर्तमान सरकार संवैधानिक सरकारजस्तो देखिए पनि आफ्नै दलको बैठकमा नजाने भएकाले निर्दलीय सरकारजस्तो देखिएको टिप्पणी गर्नुभयो ।

सर्वदलीय बैठकमा सहभागी नहुने भन्दै उहाँले एकदलीय सरकारजस्तो देखिएको बताउनुभयो । भूमिगत गिरोहबाट चल्ने पञ्चायती सरकारजस्तो र राष्ट्रपतिलाई नजरअन्दाज गर्ने ‘श्री ३ महाराज’ जस्तो देखिएको टिप्पणी गर्दै उहाँले प्रश्न गर्नुभयो, ‘खासमा बालेन सरकार कस्तो सरकार हो ?’

पोखरेलको प्रश्नको जवाफ दिँदै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष राजवंशीले बालेन नेतृत्वको सरकार नयाँ राजनीतिक परिवर्तनको परिणाम भएको बताउनुभयो । फागुन २१ गतेको निर्वाचन नियमित निर्वाचनको शृंखलामात्र नभई नेपाली राजनीतिमा क्रमभंगता ल्याउने निर्वाचन भएको उहाँको भनाइ थियो ।

राजवंशीले वर्तमान सरकार जनताको जनमतबाट अनुमोदित र संसद्मा बहुमतप्राप्त सरकार भएको स्मरण गराउनुभयो ।

‘बालेन सरकार कस्तो हो भनेर सोधिरहनुहुने माननीयज्यूलाई भन्न चाहन्छु, भ्रष्टाचार न्यूनीकरण गर्ने सरकार हो । देशलाई कमजोर पार्ने जुनसुकै संयन्त्र होस्, चाहे त्यो न्यायालय होस्, कर्मचारी संयन्त्र होस् वा राजनीतिक संयन्त्र होस्, सबैलाई सुन्ने र थुन्ने सरकार हो,’ उहाँले भन्नुभयो ।

विगतमा भ्रष्टाचारमा संलग्न भएकाहरूमाथि सरकारले कानुनी कारबाही अघि बढाउने राजवंशीले बताउनुभयो । आफूहरू नियमित प्रक्रियामा मात्र चल्ने सरकार नभएको उहाँले दाबी गर्नुभयो ।

प्रधानमन्त्री शाहले पनि यसअघि रास्वपाको महाधिवेशनमा वर्तमान सरकार गठबन्धनको नभई एकल पार्टीको सरकार भएको र सरकारमा रहेका हरेक मन्त्री, सांसद तथा कार्यकर्ताले जिम्मेवारीबोध गर्नुपर्ने धारणा राख्नुभएको थियो ।