जनता टाइम्स

१५ आश्विन २०८३, बिहीबार १५:१९

चोलेन्द्रको गिरफ्तारीले सरकार फाँसीवादतर्फ उन्मुख भएको झाँक्रीको आरोप


काठमाडौं, असोज १५ । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीको विषयमा प्रश्न उठाउँदै सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै झाँक्रीले जबरालाई पक्राउ गर्नुको कारणबारे सरकारले स्पष्ट जवाफ दिन नसकेको बताउनुभयो । उहाँले गिरफ्तारीको आधार, प्रमाण र कारण स्पष्ट नभएको दाबी गर्दै यस विषयमा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग्नुपर्ने बताउनुभयो ।

‘फाँसीज्म वा तानाशाही व्यवस्था कसरी आउँछ भनेर दुनियाँमा धेरै किताब लेखिएका छन् । हामी अहिले यस्तै अभ्यास गर्न अभिशप्त छौँ कि जस्तो देखिन्छ,’ उहाँले भन्नुभयो, ‘अस्ति मात्रै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गिरफ्तारीमा पर्नुभयो । सरकारसँग जवाफ छैन । के कारणले गिरफ्तार गरिएको हो ? न कुनै आधार, प्रमाण, कारण केही पनि छैन ।’

झाँक्रीले कार्यकारी प्रमुखमा रहेको शक्तिको दुरुपयोग गर्दै न्यायपालिका र व्यवस्थापिकामाथि अप्रत्यक्ष प्रहार भइरहेको हो कि भन्ने प्रश्नसमेत उठाउनुभयो । ‘देशको कार्यकारी प्रमुखमा असीमित पावर छ भन्ने बुझेर न्यायालय र व्यवस्थापिका दुवै अंगमाथि अप्रत्यक्ष प्रहारको तरिका हो कि ?’ उहाँले प्रश्न गर्नुभयो ।

जबराको गिरफ्तारी प्रकरणमा सरकारलाई जवाफदेही बनाउनुपर्ने भन्दै झाँक्रीले संसद्मार्फत प्रधानमन्त्री र गृहमन्त्रीसँग प्रश्न गर्नुपर्ने बताउनुभयो । ‘सम्माननीय अध्यक्षमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई कठघरामा उभ्याएर प्रश्न सोध्नुपर्छ,’ उहाँले भन्नुभयो ।

पूर्वप्रधानन्यायाधीश जबरालाई असोज ११ गते काठमाडौंको महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयमा उहाँविरुद्ध उजुरी परेको बताइए पनि प्रारम्भमा उजुरीको विषय सार्वजनिक गरिएको थिएन । पछि उहाँलाई आफन्तको जिम्मा लगाएर छाडिएको थियो ।

यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले जबराविरुद्ध दर्ता भएको महाअभियोगसम्बन्धी रिट भदौ २४ गते खारेज गर्दै महाअभियोगको औचित्य समाप्त भएको ठहर गरेको थियो ।