जनता टाइम्स

१५ आश्विन २०८३, बिहीबार १८:५६

परीक्षामा पास गराइदिन्छु भन्दै शिक्षकले आफ्नै विद्यालयकी छात्रामाथि यौनजन्य हर्कत गरेपछि


काठमाडौं, असोज १५। नाबालिक छात्रालाई परीक्षामा पास गराइदिन्छु भन्दै बाल यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–४ घर भई हाल रामेछाप गाउँपालिकामा अध्यापन गराउने ४८ वर्षीय शिक्षक नवराज भण्डारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार भण्डारीमाथि आफैले अध्यापन गराउने १३ वर्षीय छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ ।

परीक्षामा पास गराइदिन्छु भन्दै फकाएर संवेदनशील अंग छुने, चिमोट्ने, फेसबुक मेसेन्जरमा अश्लील फोटो, भिडिओ तथा मेसेज पठाई यौनजन्य क्रियाकलाप गरी पटक–पटक बाल यौन दुरुपयोग गरेको आरोप रहेको उजुरीपछि पक्राउ गरिएको जिप्रका रामेछापले जनाएको छ ।

प्रहरीका अनुसार शिक्षक भण्डारीलाई बुधबार पक्राउ गरी रामेछाप जिल्ला अदालतबाट ८ दिन म्याद लिएर अनुसन्धान भइरहेको छ ।