काठमाडौं, असोज १५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले समानान्तर रूपमा आयोजना गर्न लागेको महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगमा बुझाएको छ। उक्त कार्यतालिकामा कांग्रेस सभापतिको हैसियतमा शेरबहादुर देउवाले हस्ताक्षर गर्नुभएको छ।
देउवा पक्षबाट प्राप्त कार्यतालिका आयोगले असोज १३ गते दर्ता गरी फाइल खडा गरेर अभिलेखमा राख्ने तोकादेशसमेत सोही दिन गरेको छ।
आयोगमा बुझाइएको कार्यतालिकाअनुसार २०८३ साल असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश सभा तथा क्षेत्रीय अधिवेशन र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने प्रस्ताव गरिएको छ। त्यसैगरी सातै प्रदेशको प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने तथा केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौँमा आयोजना गर्ने गरी कार्यतालिका तय गरिएको छ।
सभापति देउवाले प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गर्दै महाधिवेशनसम्बन्धी जानकारी तथा अभिलेखीकरणका लागि उक्त कार्यतालिकासहितको पत्र आयोगमा पठाउनुभएको हो।
पत्रमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पाँचवर्षे कार्यकाल विधानबमोजिम थप गरिएको अवधिसमेत जोड्दा २०८३ साल मंसिर मसान्तमा समाप्त हुने उल्लेख गरिएको छ। सोहीअनुसार तल्लो तहदेखि केन्द्रसम्मका अधिवेशनको कार्यतालिका निर्धारण गरिएको जानकारी आयोगलाई गराइएको छ।
यसैगरी, निर्वाचन आयोगको यसअघिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको मुद्दामा पुनरावलोकनको अनुमति प्राप्त भइसकेको र उक्त विषय हाल सर्वोच्च अदालतमा विचाराधीन रहेकोसमेत पत्रमा उल्लेख गरिएको छ।
महाधिवेशन सम्पन्न भएपछि निर्वाचित केन्द्रीय कार्यसमिति तथा प्रदेश कार्यसमितिको नामावली कानुनबमोजिम अद्यावधिकका लागि पुनः निर्वाचन आयोगमा पठाइने जानकारीसमेत देउवा पक्षले गराएको छ।












प्रतिक्रिया दिनुहोस्