काठमाडौं, असोज १५ । संघीय संसद्को वर्षे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको अन्तिम बैठक शुक्रबार बस्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । त्यसअघि प्रतिनिधिसभाको अन्तिम बैठक बस्न लागेको हो ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’, ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्छ्योट (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ती विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेश गर्नुभएको थियो ।
त्यसैगरी राज्यव्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ सभामा पेश गर्नुभएको थियो ।
राष्ट्रपति कार्यालयका अनुसार चालु अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि औपचारिक रूपमा अन्त्य हुनेछ ।












प्रतिक्रिया दिनुहोस्