रुपन्देही, असोज १५ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले भैरहवाबाट करिब २ करोड ५२ लाख रुपैयाँ मूल्य बराबरका सुनका गहना बरामद गरेको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक दुर्गा थापाका अनुसार काठमाडौं–१९ की ४६ वर्षीया ईला पटेलले ल्याउँदै गरेको गहनामाथि शंका लागेपछि खानतलासी गर्दा ती गहना बरामद गरिएको हो ।
सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्ति गेटमा जाँच गर्ने क्रममा सीमा सुरक्षा गुल्म डण्डाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको कमान्डमा खटिएको टोलीले पटेललाई नियन्त्रणमा लिएको थियो । भारतबाट सुनका गहना नेपालतर्फ ल्याउँदै गरेको सूचनाका आधारमा जाँच गरिएको प्रहरीले जनाएको छ ।
बरामद गहनाको कुल तौल २ किलो ६०५ ग्राम रहेको र मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । रुपन्देही सुनचाँदी व्यवसायी संघसँग समन्वय गरी परीक्षण गर्दा तीमध्ये १ किलो सुन भएको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गहनामा हार, औंठी, चुरा, माला, सिक्री, झुम्का, पोते, बाली, टप, नाकको फूली, ब्रासलेटलगायत विभिन्न प्रकारका सामग्री छन् ।
बरामद गहना र पक्राउ परेकी पटेललाई आवश्यक कारबाहीका लागि बिहीबार नै भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्