जनता टाइम्स

१५ आश्विन २०८३, बिहीबार २०:२५

सरकार ठिक ढंगले अगाडि बढ्न सकेन : प्रचण्ड


काठमाडौं, असोज १५ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार समग्रमा सही दिशामा अगाडि बढ्न नसकेको टिप्पणी गर्नुभएको छ ।

बिहीबार पार्टीका दुवै सदनका संसदीय दलको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारको ६ महिनाको समीक्षा गर्दा केही काम सकारात्मक भए पनि समग्रमा जनहितका विषयमा अपेक्षित रूपमा काम हुन नसकेको बताउनुभयो ।

सरकारले राम्रो काम गर्दा सहयोग गर्ने र नराम्रो कामको आलोचना गर्ने नीति आफ्नो पार्टीले सुरुदेखि नै लिएको उहाँले बताउनुभयो । ‘यो ६ महिनामा सबै कुरा सकारात्मक छैनन् भन्ने होइन । तर समग्रमा हेर्दा सरकार ठिक दिशातिर गइराखेको छैन,’ उहाँले भन्नुभयो ।

प्रचण्डले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगीलगायत जनजीविकासँग जोडिएका विषयमा पार्टीले जनतालाई सचेत गराउने काम गरिरहेको बताउनुभयो । तत्काल थप आन्दोलनका कार्यक्रम भने अघि नबढाइएको उहाँले जानकारी दिनुभयो ।

रसुवा भोटेकोशी बाढीलगायत विपद्पछिको उद्धार तथा राहतमा आफ्नो पार्टी सक्रिय रहेको उहाँको दाबी छ । ‘विपद्पछिको प्रतिकार्यमा सबैभन्दा बढी सक्रिय नेकपा रह्यो,’ उहाँले भन्नुभयो ।