जनता टाइम्स

१५ आश्विन २०८३, बिहीबार २०:२७

सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन


काठमाडौं, असोज १५ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अपराध तथा अवैध गतिविधि नियन्त्रणमा निर्मम ढङ्गले प्रस्तुत हुन निर्देशन दिनुभएको छ ।

मधेस प्रदेशस्थित नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहतका गण, गुल्म, बोर्डर आउट पोस्ट र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

महानिरीक्षक पौडेलले सम्बन्धित सरोकारवाला निकाय तथा सीमावर्ती स्थानीय बासिन्दासँग सीमा सुरक्षा र समसामयिक विषयमा भइरहेका कामकारबाहीबारे जानकारी लिनुभएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँले सीमा क्षेत्रमा हुने अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण र रोकथामलाई थप सुदृढ गर्दै उच्च सतर्कता, समन्वय र जिम्मेवारीका साथ काम गर्न कमाण्डरहरूलाई निर्देशन दिनुभएको छ ।

सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रणका लागि समयमै योजना बनाएर प्रभावकारी रूपमा परिचालित भई नतिजामुखी काम गर्नसमेत उहाँले निर्देशन दिनुभएको छ ।