जनता टाइम्स

१५ आश्विन २०८३, बिहीबार २०:२८

देउवा समूहले तीन हजार १९१ वडामा गर्‍यो अधिवेशन


काठमाडौं, असोज १५ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत बिहीबार देशभरका तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ ।

देउवा समूहका अनुसार कोसी प्रदेशका एक हजार १५७ वडामध्ये ५७७, मधेसका एक हजार २७१ मध्ये ४०२, वाग्मतीका एक हजार १२१ मध्ये ५६३ र गण्डकीका ७५९ मध्ये ३८६ वडामा अधिवेशन सम्पन्न भएको छ । बाढी प्रभावित रसुवामा भने अधिवेशन हुन सकेको छैन । बागलुङमा कांग्रेस नेता मणीभद्र कँडेलकी श्रीमतीको निधन भएका कारण वडा अधिवेशन नगरिएको समूहले जनाएको छ ।

त्यस्तै, लुम्बिनीका ९८६ मध्ये ५५०, कर्णालीका ९८६ मध्ये ५५० र सुदूरपश्चिमका ७३४ मध्ये ४५६ वडामा अधिवेशन सम्पन्न भएको जनाइएको छ । देउवा समूहले सातवटै प्रदेशमा वडा अधिवेशन सुरु गरेको जनाएको छ ।

देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ । त्यसअघि असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ ।

बाँकी वडामा शुक्रबार र शनिबार अधिवेशन गर्ने तयारी रहेको समूहले जनाएको छ । देउवा समूहले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत पठाएको र वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजक खटाएको जनाएको छ ।