महोत्तरी, असोज १६ । रातु नदीको बाँध भत्किएपछि महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ।
बलवा नगरपालिका–वञ्चौरी तथा महोत्तरी गाउँपालिकाको गोरिगमा र मडै बस्ती नजिक बाँध भत्किएपछि नदीको पानी जलेश्वर बजार क्षेत्रमा पसेको हो। मंगलबार भत्किएको बाँधबाट बस्ती र खेततर्फ पस्दै आएको पानी बुधबार बेलुकादेखि जलेश्वर प्रवेश गरेको थियो।
पानी निकासको उचित व्यवस्था नहुँदा बजार क्षेत्रमा पानी जम्दै गएको छ। जलेश्वर नगरपालिका–१ नगरपालिकाचोकदेखि हटिया क्षेत्रसम्म सडकमा पानी जमेको छ। बाढीका कारण सवारीसाधन सञ्चालन तथा पैदल आवतजावतमा समेत समस्या भएको स्थानीयले बताएका छन्।
बाँध भत्किँदा महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरिगमा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौलीमा धानबालीमा क्षति पुगेको छ। बाढीले काट्ने बेलाको धान ढलाएर नोक्सान गरेको किसानले बताएका छन्।
स्थानीयका अनुसार वञ्चौरी क्षेत्रमा हरेक वर्ष बाँध भत्किने गरेको छ। गत वर्ष पनि सोही क्षेत्रमा बाँध भत्किएपछि जलेश्वर डुबानमा परेको थियो।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बाढी नगर क्षेत्रमा पसेपछि भत्किएको बाँध तत्काल मर्मतसम्भार गर्ने र जलेश्वरको पुछारबाट पानी निकास गर्ने काम थालिएको छ।












प्रतिक्रिया दिनुहोस्