काठमाडौं, असोज १६ । नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरी यूएईमा हुने आईएल टी–२० को पाँचौँ संस्करणका लागि भएको खेलाडी अक्सनमा अन्सोल्ड भएका छन्।
दुबईस्थित आईसीसी एकेडेमीमा बिहीबार भएको अक्सनमा दीपेन्द्रले आफ्नो न्यूनतम मूल्य १० हजार अमेरिकी डलर अर्थात् करिब १५ लाख ४३ हजार रुपैयाँ तोकेर नाम दर्ता गराउनुभएको थियो। तर अक्सनको १९औँ सेटमा उहाँको नाम बोलाउँदा कुनै पनि फ्रेन्चाइज टोलीले बोली लगाएनन्।
दीपेन्द्र यसअघि आईएल टी–२० मा गल्फ जायन्ट्सबाट लगातार दुई सिजन आबद्ध हुनुभएको थियो। तर दुवै सिजन उहाँले प्रतियोगितामा खेल्ने अवसर पाउनुभएको थिएन।
यसपटक पनि उहाँ गल्फ जायन्ट्सको सम्भावित रोजाइमा रहनुभएको थियो। अक्सनअघि सार्वजनिक खेलाडी सूचीमा उहाँलाई नेपालका क्याप्ड अलराउन्डरका रूपमा राख्दै न्यूनतम मूल्य १० हजार अमेरिकी डलर तोकिएको थियो।
आईएल टी–२० को पाँचौँ संस्करण नोभेम्बर २१ देखि डिसेम्बर २० सम्म यूएईमा सञ्चालन हुँदैछ।












प्रतिक्रिया दिनुहोस्