काठमाडौं, असोज १६ । विश्व बजारमा डिजेलको मूल्य बढिरहेका बेला अमेरिकाले युरोपलाई रणनीतिक डिजेल भण्डारबाट थप इन्धन बजारमा पठाउन आग्रह गरेको छ।
अमेरिकी प्रशासनले फ्रान्स र जर्मनीलाई आपत्कालीन डिजेल भण्डार घटाएर बजारमा इन्धन पठाउन आग्रह गरेको हो। अमेरिकाले आफ्नो आग्रहअनुसार भण्डारबाट इन्धन ननिकाले अमेरिकी डिजेल निर्यातमा प्रतिबन्ध लगाउन सक्ने संकेतसमेत दिएको छ।
अमेरिकी ऊर्जा सचिव क्रिस राइटले युरोपसँग आपत्कालीन डिजेल भण्डार रहेको भन्दै अहिले बजारमा थप इन्धन पठाउने समय भएको बताउनुभएको छ। उहाँका अनुसार आगामी बाली भित्र्याउने र जाडोको समयमा डिजेलको माग बढ्ने भएकाले समन्वयात्मक रूपमा भण्डारबाट इन्धन बजारमा ल्याउन आवश्यक छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि डिजेल निर्यातमा प्रतिबन्ध लगाउने प्रस्तावलाई समर्थन गर्नुभएको थियो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने पूर्ण वा आंशिक निर्यात प्रतिबन्ध सम्भव हुने–नहुनेबारे प्रशासनले अध्ययन गरिरहेको बताउनुभएको थियो।
युरोपेली संघले भने अमेरिकासँग डिजेल आपूर्ति र मूल्य घटाउने विषयमा समन्वय गरेर अघि बढ्न चाहेको जनाएको छ। ईयूका व्यापार प्रमुख मारोस सेफ्कोभिचले अमेरिकी डिजेल निर्यातमा प्रतिबन्ध लगाउने कदमले युरोपको अर्थतन्त्रमा असर पर्न सक्ने बताउनुभएको छ।
यसैबीच, रुसले डिजेल निर्यातमा लगाएको प्रतिबन्ध अक्टोबरको अन्त्यसम्म लम्ब्याएको छ। चीनले पनि अक्टोबरमा इन्धन निर्यात सीमित गरेपछि विश्व बजारमा डिजेल आपूर्तिमा थप दबाब परेको छ।












प्रतिक्रिया दिनुहोस्