जनता टाइम्स

१६ आश्विन २०८३, शुक्रबार ०८:१९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना


म्याग्दी, असोज १६ । केही दिनअघिसम्म घर, गोठ, खेतबारी र बालबालिकाको चहलपहलले भरिएको पर्वतको जलजला गाउँपालिका–८ फर्से अहिले कालीगण्डकीको भेल र बगरमा परिणत भएको छ। असोज ११ गते आएको बाढीले यहाँका करिब एक सय परिवारको जीवन नै प्रभावित बनाएको छ।

वर्षौँको मिहिनेतले बनाएका घर, गोठ, धनसम्पत्ति र पशुचौपाया बाढीले बगाएको छ। बेनी नगरपालिका–१ रत्नेचौरकी निर्मला सापकोटाको परिवार लामो समयदेखि फर्सेलाई कर्मथलो बनाएर बसेको थियो। तर बाढीले शरीरमा लगाएको कपडा र गोठका केही गाईवस्तुबाहेक सबै बगाएको उहाँले बताउनुभयो।

फर्सेकै विष्णुकुमारी हमालको परिवारले पनि व्यापार–व्यवसायसँगै पशुपालन गर्दै आएको थियो। परिवारले बनाएका चारवटा घर र श्रीमान् डिलबहादुर क्षेत्रीले सञ्चालन गरेको पशुपालन फार्मसमेत बाढीले बगाएको छ। ‘सुविधासम्पन्न घरगोठ भएको ठाउँमा अहिले कालीगण्डकी बगेको छ,’ उहाँले भन्नुभयो।

जलजला गाउँपालिकाका अनुसार बाढीबाट ७५ घर पूर्ण रूपमा क्षति भएका छन् भने २७ घर जोखिममा छन्। विस्थापित ७५ परिवारका १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन्। अन्यत्र घर नभएका र आफन्तकहाँ आश्रय लिन नसक्ने परिवारलाई अस्थायी शिविरमा राखिएको गाउँपालिकाले जनाएको छ।

पूर्वसूचनाले जोगायो ज्यान

बाढी आउनुअघि स्थानीयलाई पूर्वसूचना दिइएका कारण फर्सेमा ठूलो मानवीय क्षति हुन पाएन। असोज १० गते मध्यराति फर्से युवा क्लबका युवाले माइकिङ गरेपछि धेरै परिवार घर छाडेर सुरक्षित स्थानतर्फ लागेका थिए।

सङ्गीता शर्माका अनुसार राति करिब २ बजे शरीरमा लगाएको कपडाबाहेक केही नलिई घरबाट निस्कनुपरेको थियो। घरमा रहेका गहना, अन्न, लत्ताकपडा, फर्निचर, भाँडाकुँडा, नगद र महत्वपूर्ण कागजात निकाल्ने समय नपाएको उहाँले बताउनुभयो।

बाढीले घरसँगै विद्यार्थीका कापी–किताबसमेत बगाएको छ। फर्से र बागलुङको ढोडेनी जोड्ने करिब एक सय वर्ष पुरानो झोलुङ्गे पुलसमेत बगेपछि जनकल्याण माध्यमिक विद्यालय जाने विद्यार्थीलाई घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था आएको छ।

व्यापारिक केन्द्रबाट कृषि गाउँ

पञ्चायतकालमा फर्से व्यापारिक केन्द्रका रूपमा परिचित थियो। सडक विस्तारसँगै यहाँका बासिन्दा कृषि तथा पशुपालनतर्फ लागे। बेनी, कुश्मा र बागलुङ बजार नजिक भएकाले दूध तथा तरकारी उत्पादन स्थानीयको मुख्य आम्दानीको स्रोत बनेको थियो।

सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाका सचिव खड्ग केसीका अनुसार फर्सेबाट सिजनमा दैनिक करिब ८०० लिटर र बेसिजनमा ६०० देखि ७०० लिटरसम्म दूध बिक्री हुने गरेको थियो। सहकारीले ४० किसानबाट दूध खरिद गरी बागलुङमा बिक्री गर्दै आएको थियो।

बाढीपछि भने किसानको अवस्था फेरिएको छ। गाईभैँसी पाल्ने करिब आधा किसान प्रभावित भएको र पशु आहारा तथा दाना अभावका कारण दूध उत्पादन घटेको केसीले बताउनुभयो।

बगर बनेको गाउँ फेरि उठ्ने विश्वास

स्थानीय टीकाराम क्षेत्रीले बाढीले उठ्दै गरेको फर्सेलाई एकैपटक तहसनहस बनाएको बताउनुभयो। ‘साहस गरेर फेरि उठ्नेछौँ, तर सरकारको साथ चाहिन्छ,’ उहाँले भन्नुभयो।

फर्से टोल विकास संस्थाका अध्यक्ष रामु सुवेदीले सुरक्षित बसोबास र नदी नियन्त्रणको काम तत्काल गर्नुपर्ने बताउनुभयो। कालीगण्डकी किनारमा पक्की संरचना निर्माण गरी बस्ती संरक्षण गर्न सके पुरानै अवस्थामा फर्किन सकिने उहाँको भनाइ छ।

बाढी प्रभावितको पुनःस्थापना, सुरक्षित बसोबास र बस्ती संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेको स्थानीयले बताएका छन्। कालीगण्डकीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन रोक्नुपर्ने र पर्वतसँगै म्याग्दी तथा बागलुङतर्फका बस्ती संरक्षणको योजना बनाउनुपर्ने उनीहरूको माग छ।

जलजला गाउँपालिकाले बाढीपीडितका लागि कर्मचारी खटाएर सचिवालय स्थापना गरेको छ। राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गरिएको र प्रभावित परिवारलाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

स्वास्थ्य शिविर तथा मनोसामाजिक परामर्श सञ्चालन गर्नुका साथै क्षतिको विवरण सङ्कलनका लागि जनप्रतिनिधि र कर्मचारीका १४ समूह परिचालन गरिएको छ। गाउँपालिकाले पुनर्निर्माण र पुनःस्थापनाका लागि सङ्घीय तथा प्रदेश सरकारसमक्ष प्रस्ताव गरेको जनाएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फर्सेको स्थलगत निरीक्षणका क्रममा पुनर्निर्माण र पुनःस्थापनामा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।

बाढीले घर, गोठ र खेतीयोग्य जमिन बगाए पनि फर्सेवासीमा आफ्नो गाउँ फेरि उठाउने आशा भने बाँकी छ। स्थानीय चन्द्र दर्जीका अनुसार सुरक्षित बास, बस्ती संरक्षण र पुनःस्थापनामा सरकारी सहयोग पाए फर्सेलाई फेरि पुरानै अवस्थामा फर्काउने स्थानीयको चाहना छ।