जनता टाइम्स

१६ आश्विन २०८३, शुक्रबार ११:१७

प्रधानमन्त्रीको सचिवालय २५ सदस्यीय, तीन जनालाई मन्त्रीसरह सुविधा


काठमाडौं, असोज १६ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार, विज्ञ तथा स्वकीय सचिवालयमा कार्यरत २५ पदाधिकारीको विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार सल्लाहकार तथा विज्ञ समूहमा दुई जनाले मन्त्रीसरह र दुई जनाले राज्यमन्त्रीसरह सेवा सुविधा पाउने व्यवस्था छ। मुख्य राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार अवैतनिक छन् भने राजनीतिक सल्लाहकार असिम शाहले मन्त्रीसरह सुविधा पाउनेछन्। अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई पनि मन्त्रीसरह सुविधा दिइएको विवरणमा उल्लेख छ।

नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले राज्यमन्त्रीसरह सेवा सुविधा पाउनेछन्।

प्रधानमन्त्रीको सचिवालयको नेतृत्व प्रमुख स्वकीय सचिव सुवाष शर्माले गरिरहेका छन्। स्वकीय सचिवमा नवीन भण्डारी रहेका छन्। सहसचिवसरहको जिम्मेवारीमा सञ्जीव पाण्डे, दीपा दाहाल, सन्तोष गिरी र विश्व राई रहेका छन्।

उपसचिवसरहको जिम्मेवारी प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्यले सम्हालेका छन्। सहायक विज्ञका रूपमा सुमन गौतम र रवि किरण अधिकारी रहेका छन्।

त्यस्तै, शाखा अधिकृत तथा अन्य प्राविधिक र प्रशासनिक तहमा सुरेन्द्र बजगाईँ, रोशन तामाङ, बेदानन्द जोशी, हेम नारायणदास चौधरी, अनुप थापा मगर, ऋषि थापा, अमृत पाण्डे, राजकुमार गौतम र बेनिस कार्की कार्यरत रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।