जनता टाइम्स

१६ आश्विन २०८३, शुक्रबार ११:३०

आज देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं, १६ असोज । शुक्रबार देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण देशभर आंशिक बदली रहेको छ भने बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। कोशीका हिमाली तथा पहाडी भू–भाग तथा बागमती र गण्डकीका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तराई क्षेत्रमा आंशिक बदली रहने तथा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ।