जनता टाइम्स

१६ आश्विन २०८३, शुक्रबार १२:१९

ध्रुवराज राईको सत्तापक्षलाई सुझाव : ‘तीन महिनापछि फेरि भेटौँला, आफैँले आफ्नो सरकार नढाल्नुहोला’


काठमाडौं, असोज १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ध्रुवराज राईले सरकारले प्रतिपक्ष र जनताले उठाएका प्रश्नको जवाफ दिनुपर्ने बताउनुभएको छ।

प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै सांसद राईले प्रतिपक्षको बेञ्चबाट आफूहरूले पटक–पटक जनताका सवाल उठाए पनि प्रधानमन्त्रीबाट त्यसको जवाफ पाउन नसकेको बताउनुभयो।

उहाँले चालु अधिवेशनमा प्रश्न उठाउने र जवाफ खोज्ने क्रम अपेक्षाअनुसार अघि बढ्न नसकेको उल्लेख गर्दै आगामी अधिवेशनमा सरकारले जनताका प्रश्नको जवाफ दिन सक्ने वातावरण बन्नुपर्ने बताउनुभयो। ‘प्रतिपक्षको बेञ्चबाट हामीले धेरै प्रश्न उठायौँ, तर प्रधानमन्त्रीबाट जवाफ पाउन सकिएन,’ उहाँले भन्नुभयो, ‘यो अधिवेशनमा त यस्तै–उस्तै भयो, अर्को बैठकमा सरकारले जनताको प्रश्नको जवाफ दिन सकोस्।’

सांसद राईले सरकार आफूलाई सम्हाल्दै अघि बढ्नुपर्ने र जनताप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो। सरकार पाँच वर्षसम्म स्थिर रूपमा सञ्चालन गर्न सके जनताले अपेक्षा गरेअनुसार परिणाम देखिन सक्ने उहाँको भनाइ थियो। ‘सरकार आफूलाई सम्हालेर अगाडि बढ्न सकोस्, जनताको प्रश्नको जवाफ दिन सकोस्,’ उहाँले भन्नुभयो।

सरकार प्रमुखले सांसदहरूले उठाएका जनसरोकारका प्रश्नको जवाफ नदिँदा आफूहरू ‘खाली हात’ फर्कनुपरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा यस्तो अवस्था दोहोरिन नहुने बताउनुभयो। त्यस क्रममा उहाँले सत्तापक्षलाई व्यंग्यात्मक शैलीमा सुझाव दिँदै भन्नुभयो, ‘फेरि तीन महिना पछि हाम्रो भेट होस्, आफैँले आफ्नो सरकार नढाल्नुहोला।’

सांसद राईले चालु अधिवेशनमा आफूहरूले राखेका मागलाई अपमान गरिएको गुनासोसमेत गर्नुभयो। आगामी सदनमा त्यस्ता माग राख्नुपर्ने अवस्था नै नआउने गरी सरकारले काम गर्नुपर्ने उहाँको भनाइ थियो। ‘यो अधिवेशनमा हाम्रा मागहरू अपमान गरिएका छन्, अबको सदनमा त्यस्तो माग गर्ने वातावरण नै नबनोस्,’ उहाँले भन्नुभयो।