काठमाडौं, असोज १६। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रमुख सचेतक क्रान्तिशिखा धितालले राज्यले नागरिकका दुःख र पीडामा समेत विभेद गरिरहेको भन्दै सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउनुभएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रमुख सचेतक धितालले एउटा घटना सेलाउन नपाउँदै अर्को घटना आउँदा राज्यले अघिल्लो पीडा बिर्सने गरेको बताउनुभयो। उहाँले नागरिकका दुःखलाई घटनाको नयाँपन वा चर्चाका आधारमा प्राथमिकता दिने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो। ‘देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौँ, अर्को घटना आएपछि अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ,’ उहाँले भन्नुभयो।
प्रमुख सचेतक धितालले नेपाली समाजमा दुःख र पीडाका घटना एकपछि अर्को गर्दै आउने तर राज्यको ध्यान भने पछिल्लो घटनामा मात्रै केन्द्रित हुने गरेको टिप्पणी गर्नुभयो। उहाँले जेनजी आन्दोलन, मधेसको साम्प्रदायिक दङ्गा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछि हत्या तथा रसुवाको बाढीजस्ता घटनाको भीडमा सुकुम्बासीका पीडा र बाढीमा हराएका बालबालिकाको खोजीसमेत ओझेलमा पर्न सक्ने चिन्ता व्यक्त गर्नुभयो। ‘जेनजी आन्दोलन, मधेसको साम्प्रदायिक दङ्गा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछि हत्या र रसुवाको बाढी-यी घटनाको भीडमा हराए सुकुम्बासीका पीडा र हराउन सक्लान् बाढीमा हराएका बालबालिकाको खोजी,’ उहाँले भन्नुभयो।
सरकार नागरिकको पीडाप्रति संवेदनशील हुनबाट पन्छिरहेको बताउँदै धितालले राज्यले नागरिकका दुःखबीच विभेद गर्न नहुने बताउनुभयो। ‘हामी किन यति धेरै संवेदनशील हुनबाट भागिरहेका छौँ ? बजारमा नयाँ ट्रेन्ड आएसँगै न्यायका विषय पनि प्रतिस्थापित हुन्छन्,नागरिकको पीडाबीच राज्यले भेद गर्न मिल्दैन, भेद नहोस्,’ उहाँले भन्नुभयो।
उहाँले राज्यले पीडितका दुःखलाई केही दिनको सहानुभूति र औपचारिकतामा सीमित गर्न नहुने धारणा राख्नुभयो। पीडितको जीवन सामान्य अवस्थामा नफर्किएसम्म राज्यले निरन्तर साथ दिनुपर्ने उहाँको आग्रह थियो। ‘राज्यले अरूको दुःखमा टेको लगाउने होइन, टेको बन्न सिकोस्। केही दिनको सहानुभूतिमा सीमित नहोऔँ। पीडितको जीवन सामान्य नहुन्जेल राज्य साथमा उभिनुपर्छ, राज्य परिणामसहित उभियोस्,’ उहाँले आग्रह गर्नुभयो।












प्रतिक्रिया दिनुहोस्