काठमाडौं, असोज १६। प्रतिनिधि सभामा नेकपा संसदीय दलका उपनेता प्रमेश हमालले सरकारले सरकारको मूल्य, मान्यता र मर्यादा कायम राख्न नसकेको आरोप लगाउनुभएको छ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उपनेता हमालले प्रधानमन्त्रीले सभामुखबाट भएको रुलिङसमेत पालना नगरेको बताउनुभयो। उहाँले सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरे पनि त्यसको कार्यान्वयन नभएको भन्दै प्रश्न उठाउनुभयो। ‘यहाँले प्रधानमन्त्रीलाई रुलिङ गराउनुभयो, खै त्यो रुलिङको पालना भएको ? तपाईंले पालना गराउनुपर्दैन ?’ उहाँले प्रश्न गर्नुभयो।
उपनेता हमालले संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले सीमासम्बन्धी गलत अभिव्यक्ति दिएको दाबी गर्दै त्यस्तो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनुपर्ने बताउनुभयो। ‘उहाँले नेपालले पनि भारतको धेरै ठाउँमा भूभाग मिचेको छ भन्नुभएको छ, यो करेक्सन हुनुपर्दैन ? संसद्को रेकर्डबाट हट्नुपर्दैन ? यसलाई रेकर्डमै राखेर जाने हो ?’ उहाँले प्रश्न गर्नुभयो।
उहाँले सरकार निरंकुश ढङ्गले सञ्चालन भइरहेको आरोपसमेत लगाउनुभयो। संसद्को सर्वोच्चता, सभामुखको रुलिङ तथा संसदीय मर्यादालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उहाँको भनाइ थियो।












प्रतिक्रिया दिनुहोस्