सरकारले एफडब्लूसीएमएसमा सूचीकृत २५ म्यानपावर कम्पनीले नै आफूहरू उक्त प्रणालीबाट बाहिरिन चाहेको भन्दै निवेदन दिइसकेको बिषयसमेत मलेसिया सरकारलाई जानकारी गराएको छ
काठमाडौं, असोज १६ । सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा सूचीकृत नेपाली म्यानपावर कम्पनीलाई प्रणालीबाट हटाउन भन्दै मलेसिया सरकारलाई पत्र पठाएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयले मलेसिया सरकारलाई पत्र पठाएर यस्तो आग्रह गरेको हो । मलेसियाले नेपाली श्रमिक भर्नाका लागि भन्दै २५ वटा म्यानपावर कम्पनीलाई ‘प्रिन्सिपल’ र ती अन्तर्गत २ सय ५० कम्पनीलाई ‘सपोर्टिङ’ वा सहायक संस्थाका रूपमा सूचीकृत गरेपछि उत्पन्न विवाद समाधान गर्न मन्त्रालयले पहलकदमी लिई पत्र पठाइएको जनाएको छ ।
सरकारले एफडब्लूसीएमएसमा सूचीकृत २५ म्यानपावर कम्पनीले नै आफूहरू उक्त प्रणालीबाट बाहिरिन चाहेको भन्दै निवेदन दिइसकेको बिषयसमेत मलेसिया सरकारलाई जानकारी गराएको छ । यता मलेसियाले भने एफडब्लूसीएमएसमा सूचीकृत म्यानपावर कम्पनीमार्फत मात्रै विदेशी श्रमिक भर्ना गर्न रोजगारदातालाई निर्देशन दिएको छ ।
मलेसियाको एफडब्लूसीएमएसमा नेपालका करिब १ हजार २ सय इजाजतपत्र प्राप्त म्यानपावरमध्ये सुरुमा २५ वटालाई मात्रै ‘रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सी’ का रूपमा राखिएको थियो । त्यसको नेपालमा विरोध भएपछि थप २ सय ५० म्यानपावरलाई ती २५ कम्पनीे मातहत सपोर्ट एजेन्सीका रूपमा राखिएको थियो ।
नेपाल सरकारले २५ मुख्य र २ सय ५० सहायक म्यानपावरको संरचना नै स्वीकार नगर्ने बताउँदै आएको छ । वैदेशिक रोजगार सम्बन्धी नेपाली कानुनमा सबै इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीलाई समान हैसियत रहेको र नेपाल–मलेसिया श्रम सम्झौतामा पनि यस्तो ‘प्रिन्सिपल’ र ‘सपोर्ट’ एजेन्सीको व्यवस्था नरहेको नेपालको अडान रहेको छ ।
यही विवादबीच मलेसियाको सूचीमा परेका २५ म्यानपावर कम्पनीले गत भदौ पहिलो साता सरकार समक्ष आफूहरू एफडब्लूसीएमएसबाट बाहिरिन चाहेको निवेदन दिएका थिए । त्यसअघि मन्त्रालयमा भएको छलफलमा समेत ती कम्पनीले प्रणालीबाट आफ्नो नाम हटाउने सहमति जनाएका थिए ।
सरकारले भने २५ म्यानपावर कम्पनीको एफडब्लूसीएमएसमा संलग्नताको विषयमा छानबिन समेत अघि बढाएको छ । वैदेशिक रोजगार विभागले उनीहरूको कारोबार, छनोटको आधार, मलेसिया रोजगारीमा विगतको संलग्नता र अन्य म्यानपावरलाई आफ्नो मातहत आबद्ध गराउँदा अपनाइएको प्रक्रियाबारे विवरण मागेको हो ।
विभागले २५ मुख्य म्यानपावरसँग पछिल्ला पाँच आर्थिक वर्षको व्यावसायिक तथा वित्तीय विवरणसमेत मागेको छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा ३४ बमोजिम माग गरिएको विवरणमा कारोबार, श्रमिक संख्या, सेवा शुल्क, कर तथा लेखा परीक्षण लगायत विवरण समेटिएका छन् ।
यसअघि विभागले एफडब्लूसीएमएसमा २५ मुख्य कम्पनीसँग आबद्ध भनिएका २ सय ५० म्यानपावरको मलेसिया सम्बन्धी नयाँ पूर्वस्वीकृति समेत रोक्का गरेको थियो । छानबिन पूरा नहुँदासम्म उनीहरूलाई नयाँ पूर्वस्वीकृति नदिने निर्णय भएको हो ।
मलेसियाको एफडब्लूसीएमएसमा रोजगारदाता दर्ता तथा विदेशी श्रमिक भर्नासम्बन्धी प्रक्रिया सञ्चालन हुने व्यवस्था छ । प्रणालीमा स्रोत देशका रिक्रुटमेन्ट एजेन्सी मार्फत श्रमिक छनोट गर्ने संरचना पनि राखिएको छ ।
मलेसियामा रोजगारदाताले विदेशी श्रमिक नियुक्त गर्नुअघि सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । यस्तो प्रक्रियामा एफडब्लूसीएमएस प्रयोग हुँदै आएको छ ।












प्रतिक्रिया दिनुहोस्