काठमाडौं, असोज १६। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा प्रतिगमन भएको बताउँदै पार्टीले व्यहोरेको पछिल्लो धक्काबाट निराश नभई आत्मसमीक्षा र दृढ संकल्पका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई सपथग्रहण गराउँदै अध्यक्ष ओलीले एमाले महान् उद्देश्य बोकेर अघि बढिरहेको पार्टी भएकाले सानातिना विषय, व्यक्तिगत इगो र अनावश्यक विवादमा अल्झिन नहुने बताउनुभयो। “अहिले देशमा प्रतिगमन भएको छ। एकछिन धक्का लागेको छ, तर हाम्रो पार्टी महान् उद्देश्य बोकेर अगाडि बढेको छ। त्यसैले यस्ता सानातिना कुरामा नअल्झिऔँ, इगोमा नअल्झिऔँ, नचाहिने कुरामा नअल्झिऔँ, नफसौँ,” अध्यक्ष ओलीले भन्नुभयो।
उहाँले पार्टीका नेता–कार्यकर्ताले विगतका घटनाबाट सिक्दै आत्मसमीक्षा गर्नुपर्ने र अबको लक्ष्यमा केन्द्रित भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। “महान् उद्देश्यमा फराकिलो मनका साथ अगाडि बढौँ। हामीमा रियलाइजेसन हुनुपर्छ। रियलाइजेसन भयो भने र हामीले संकल्प गर्यौँ भने फेरि हामी लडेको ठाउँबाट उठ्न सक्छौँ। हामीले आफूले कहाँ गल्ती गर्यौँ, कहाँ कमजोरी भयो भन्ने कुराको महसुस गर्नुपर्छ र त्यसबाट सिकेर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयाे ।
अध्यक्ष ओलीले एमालेले विगतमा हासिल गरेको राजनीतिक अवस्थालाई पुनः प्राप्त गर्दै अझ अघि बढ्न सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले पार्टीका लागि विगतको अवस्थामै फर्किनु मात्र पर्याप्त नभएको बताउँदै त्यसलाई आगामी यात्राको आधार बनाउनुपर्ने धारणा राख्नुभयो। “हाम्रो लागि पहिलोको अवस्थामा पुग्नु भनेको दुईतिहाइको नजिक पुग्नु हो। तर त्यतिमा नै राेकिने हाेइन, त्यो स्थितिलाई सदुपयोग गर्दै अगाडि बढ्ने हो। हामीले विगतमा हासिल गरेको शक्ति र जनविश्वासलाई फेरि स्थापित गर्नुपर्छ। त्यसलाई आधार बनाएर अझ अगाडि बढ्नुपर्छ। फेरि हामी उठ्छौँ, हामी लक्ष्यमा पुग्छौँ,” अध्यक्ष ओलीले दृढता व्यक्त गर्नुभयो।

उहाँले पार्टीमा देखिन सक्ने आन्तरिक असमझदारी, व्यक्तिगत आग्रह–पूर्वाग्रह तथा सानातिना विवादलाई प्राथमिकता दिनुभन्दा पार्टीको दीर्घकालीन उद्देश्यलाई केन्द्रमा राख्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो। “हामी महान् उद्देश्य बोकेर हिँडेका छौँ। त्यसैले बाटोमा आउने सानातिना कुराले हाम्रो ध्यान विचलित हुनु हुँदैन। इगो र व्यक्तिगत विषयमा अल्झिने होइन, पार्टीको उद्देश्य, देशको समृद्धि र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ। फराकिलो मन बनाएर अघि बढ्यौँ भने हामी पछारिएकाे ठाउँबाट फेरि उठ्न सक्छौँ र अझ बलियो भएर अगाडि जान सक्छौँ,” उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्ताको आचरण, व्यवहार र कार्यशैली पार्टीको छविसँग जोडिने भएकाले सबैले आफ्नो आचरणलाई शुद्ध र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो। “नेकपा एमालेको आचरण पवित्र हुनुपर्दछ, शुद्ध हुनुपर्दछ। बानी राम्रो हुनुपर्दछ। हाम्रो व्यवहार जनताले हेर्ने हो। हामीले समाजमा कस्तो उदाहरण प्रस्तुत गर्छौँ भन्ने कुराले पार्टीको छवि निर्धारण गर्छ। त्यसैले नेता–कार्यकर्ताको आचरण राम्रो, व्यवहार शालीन र काम जिम्मेवार हुनुपर्छ,” अध्यक्ष ओलीले बताउनुभयो।
सपथग्रहण गरेका केन्द्रीय सदस्यहरूलाई पार्टीको नीति, विचार र उद्देश्यअनुसार जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनलाई बलियो बनाउन भूमिका खेल्नुपर्ने बताउनुभयो। अध्यक्ष ओलीले पछिल्लो परिस्थितिलाई पार्टी पुनःसंगठित र सुदृढ हुने अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै एकता, अनुशासन, आत्मसमीक्षा र दृढ संकल्पका साथ अघि बढे एमाले पुनः आफ्नो लक्ष्यमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।












प्रतिक्रिया दिनुहोस्