जनता टाइम्स

१६ आश्विन २०८३, शुक्रबार २१:३६

अख्तियारले डामेका पूर्व एमाले नेता भीमकान्त लामिछाने क्यान्सर अस्पतालको अध्यक्षमा नियुक्त


काठमाडौं, असोज १६ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा भीमकान्त लामिछाने नियुक्त हुनुभएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेपछि अन्तर्वार्ताका आधारमा लामिछानेलाई अध्यक्ष नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष लामिछाने तथा समितिका सदस्य डा. मधु भुसाल र डा. सञ्जय पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । दुवै सदस्य विज्ञका रूपमा नियुक्त हुनुभएको हो ।

लामिछाने पूर्वएमाले नेता हुनुहुन्छ । उहाँ हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुनुहुन्छ । यसअघि उहाँ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कर्णाली प्रदेश कार्यालय, वीरेन्द्रनगरमा निमित्त प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

सोही क्रममा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ भदौ २७ गते लामिछानेसहित ११ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ स्थित चामुण्डा माध्यमिक विद्यालयले सीटीईभीटीबाट विभिन्न तालिम सञ्चालनका लागि प्राप्त रकममा अनियमितता गरेको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो । आयोगले प्रतिवादीहरूबाट जनही ३ करोड ४३ लाख रुपैयाँ बिगो दाबी गरेको थियो ।

लामिछानेले भने उक्त मुद्दामा विशेष अदालतबाट आफूले सफाइ पाएको बताउनुभएको छ । विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको भए पनि त्यसपछि मुद्दाको अवस्थाबारे आफूलाई जानकारी नभएको उहाँले बताउनुभएको छ ।

यसैबीच, मन्त्रालयले नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ । सिग्देल भेरी अस्पतालमै कार्यरत हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको विकास समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त भएका छन् । लामो समयदेखि रिक्त रहेको समितिको अध्यक्ष पदमा नयाँ नियुक्तिसँगै अस्पतालको व्यवस्थापन तथा सेवा सञ्चालनसम्बन्धी काम अघि बढ्ने मन्त्रालयले जनाएको छ ।