जनता टाइम्स

१६ आश्विन २०८३, शुक्रबार २१:४०

मदिराले मातेका पुरुषले श्रीमतीमाथि मट्टितेल छर्केर आगो लगाए


अर्घाखाँची, १६ असोज । अर्घाखाँचीको सन्धिखर्कमा एक पुरुषले आफ्नै श्रीमतीमाथि मट्टितेल छर्केर आगो लगाएका छन् ।

सन्धिखर्क नगरपालिका–११ रामपोतका ४२ वर्षीय खिमबहादुर मुखियाले शुक्रबार दिउँसो घरमै रहेकी ३६ वर्षीया श्रीमती सुनिता मुखियामाथि मट्टितेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाका बेला खिमबहादुर मदिराको नशामा थिए । आगोले जलेर घाइते भएकी सुनिताको अर्घाखाँची अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ ।

घटनापछि खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्दासमेत खिमबहादुर मदिराको नशामै थिए । घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खिमबहादुरलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।