काठमाडौं, असोज १६ । जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ ।
चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित, मर्यादित र सुव्यवस्थित वातावरण कायम गर्न जिल्लाभर ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सिसीटिभी क्यामेरा र तीनवटा ड्रोनमार्फत निगरानी गरिनेछ । प्रमुख नाका तथा अत्यधिक भीडभाड हुने संवेदनशील स्थानमा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी नियमित ‘डग स्निफिङ’ गरिनेछ ।
सुरक्षा व्यवस्थाका लागि १६६ वटा मोबाइल भ्यान, ५०८ स्थानमा स्ट्याटिक पिकेट, २१० वटा पैदल गस्ती र १५२ स्थानमा मोटरसाइकल परिचालन गरिने प्रवक्ता थापाले बताउनुभयो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले चाडपर्वलाई लक्षित गरी सामान्य अवस्थाभन्दा थप व्यवस्थित, परिष्कृत र प्रविधिमैत्री सुरक्षा योजना बनाएर लागू गरिएको जानकारी दिनुभयो ।
उहाँले चाडपर्वका बेला हुनसक्ने चोरी, लुटपाट, गुण्डागर्दी, जुवातास, टिकटमा हुने ठगी, ओभरलोड तथा सवारी दुर्घटनालगायतका विकृति–विसङ्गति न्यूनीकरण तथा नियन्त्रण गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
यात्रुलाई ठगी र असुविधाबाट जोगाउन तथा आवश्यक सहजीकरण गर्न नागरिक सहायता कक्ष स्थापना गरी प्रहरी परिचालनलाई समेत व्यापक बनाइएको उहाँले जानकारी दिनुभयो ।












प्रतिक्रिया दिनुहोस्