जनता टाइम्स

१७ आश्विन २०८३, शनिबार ०८:३२

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते


काठमाडौं, असोज १७ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते हुनुभएको छ ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेर दुर्घटना भएको हो ।

बसमा चालकसहित १८ जना सवार हुनुहुन्थ्यो । दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते हुनुभएको र दुई जना सकुशल रहनुभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मृत्यु भएको पुष्टि भएको छ । अन्य पाँच जना मृतकको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा गोरखा–९ का ३० वर्षीय हरिशरण थापा, अछामको मंगलसेन–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाको ठाकुरबाबा–१ की २० वर्षीया आकृति, बाजुराको स्वामीकार्तिक–५ का ३२ वर्षीय पवन बुढा र बर्दियाको राजापुर–९ का २८ वर्षीय सञ्जय थारू हुनुहुन्छ ।

यस्तै बाजुराको स्वामीकार्तिक–१ का २५ वर्षीय प्रेम बम, ललितपुरको कुञ्ज्योसोम–५ का २९ वर्षीय अनोज खत्री, बर्दियाको बाँसगढी–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँकेको नेपालगञ्ज–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यानको वनगाड कुपिण्डे–१ का २१ वर्षीय अनिल बुढाथोकी घाइते हुनुभएको छ ।

उहाँहरूलाई दुर्घटनास्थलबाट उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका लागि लगिएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।