जनता टाइम्स

१७ आश्विन २०८३, शनिबार ०८:५१

एशियाली खेलकुदको क्रिकेट स्वर्णका लागि आज भारत र पाकिस्तान भिड्दै


काठमाडौं, असोज १७ । जापानमा जारी एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

निशिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।

यसअघि बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ६ विकेटले तथा भारतले श्रीलंकालाई १२४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

एशियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि भारत र पाकिस्तानबीच हुन लागेको खेललाई विशेष चासोका साथ हेरिएको छ ।

यस्तै, सेमिफाइनलमा पराजित बंगलादेश र श्रीलंकाबीच कांस्य पदकका लागि खेल भइरहेको छ । टस जितेर श्रीलंकाले पहिले ब्याटिङ गरिरहेको छ ।

नेपाल पनि एशियाली खेलकुदको क्वाटरफाइनलसम्म पुगेको थियो । तर श्रीलंकासँगको क्वाटरफाइनल खेल वर्षाका कारण हुन नसकेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।