जनता टाइम्स

१७ आश्विन २०८३, शनिबार ०८:५४

कुनै षडयन्त्रमा फस्दैनाैँ, उज्यालाे नेपाल पार्टीलाई मुख्य राष्ट्रिय शक्ति बनाउँछाैँ : कुलमान घिसिङ


रामेछाप, असोज १७ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी गठन भएदेखि नै आफूहरूलाई असफल बनाउन विभिन्न षड्यन्त्र भइरहेको दाबी गर्दै अब त्यस्ता कुनै पनि षड्यन्त्रमा नफस्ने बताउनुभएको छ । उहाँले उज्यालो नेपाल पार्टीलाई अबको विकल्पमा मात्र सीमित नराखी देशको मुख्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने दाबीसमेत गर्नुभयाे । 

गृहजिल्ला रामेछापको सदरमुकाम मन्थलीमा आयोजित पार्टीको विस्तारित बैठक तथा संगठन पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले जातीयतासहित विभिन्न आरोप तथा लाञ्छना लगाएर पार्टीलाई राजनीतिक रूपमा किनारा लगाउने प्रयास भइरहेको बताउनुभयाे । तर उज्यालाे नेपालमा सबै खालका क्षमता राख्ने सबै जात, धर्म र समुदायका मानिसहरु भएकाे उहाँले दाबी गर्नुयाे । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता १२ दिनमै टुटेको प्रसङ्ग उल्लेख गर्दै घिसिङले आफूहरू विगतमा पनि यस्ता षड्यन्त्रमा परिसकेको बताउनुभयो । विगतका घटनाबाट धेरै कुरा सिकिसकेको भन्दै उहाँले अब त्यस्ता षड्यन्त्रमा कुनै पनि हालतमा नफस्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘हाम्रो पार्टी गठन भएदेखि नै यस्ता षड्यन्त्रहरू रचिएका छन् । हामी एक पटक त्यस्ता षड्यन्त्रमा फसिसकेका पनि छौँ । त्यसबाट हामीले धेरै कुरा बुझेका छौँ, अब फेरि पनि त्यस्ता षड्यन्त्रमा कुनै पनि हालतमा फस्ने छैनौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

घिसिङले उज्यालो नेपाल पार्टीलाई देशलाई समृद्धिको दिशामा अघि बढाउन सक्ने राजनीतिक शक्तिका रूपमा जनताले विश्वास गरेको दाबी गर्नुभयो । पार्टी अब विकल्पका रूपमा मात्र सीमित नरहने भन्दै उहाँले आगामी दिनमा मुख्य राजनीतिक शक्तिका रूपमा स्थापित हुने बताउनुभयो ।‘अबको विकल्प होइन, अबको मेनस्ट्रिम पार्टी नै उज्यालो नेपाल पार्टी बन्छ,’ उहाँले भन्नुभयो ।

नयाँ राजनीतिक शक्तिको नारासहित आएको रास्वपा नेतृत्वको सरकारले समेत जनताको अपेक्षाअनुसार काम गर्न नसकेको घिसिङले टिप्पणी गर्नुभयो । सरकार गठन भएको छ महिना बितिसकेकाले यसको कामको समीक्षा गर्न पर्याप्त समय भइसकेको उहाँको भनाइ थियो । ‘६ महिना भनेको एकदमै लामो समय हो । छ महिनामा कस्ता काम हुनुपर्थ्यो, अहिले नयाँ सरकारका गतिविधि सबै देखिएकै छन्,’ उहाँले भन्नुभयो ।

हालको कार्यशैलीबाट देश अघि बढ्न नसक्ने बताउँदै घिसिङले उज्यालो नेपाल पार्टीको नेतृत्वमा सरकार बने हरित क्रान्ति र हरित रूपान्तरणमार्फत देशको आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने दाबी गर्नुभयो । उहाँले हरित रूपान्तरणलाई देशको समृद्धिसँग जोड्दै त्यसैमार्फत आर्थिक तथा सामाजिक विकासलाई गति दिने पार्टीको दृष्टिकोण प्रस्तुत गर्नुभयो ।

यसैबीच, उज्यालो नेपाल पार्टी रामेछापको जिल्ला समिति पुनर्गठन गरिएको छ । पार्टी अध्यक्ष घिसिङको अध्यक्षतामा शुक्रबार मन्थलीमा आयोजित कार्यक्रममार्फत जिल्ला समितिलाई पुनर्गठन गर्नुका साथै विभिन्न पार्टीका कार्यकर्तालाई उज्यालो नेपाल पार्टीमा प्रवेश गराइएको पार्टीले जनाएको छ ।

पुनर्गठित जिल्ला समितिको अध्यक्षमा चिना लामा चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा दामोदर तामाङ, सचिवमा मोतिलाल घिसिङ, उपसचिवमा सागर थापा, अर्जुन घिसिङ र तेन्जीङ लामा तथा कोषाध्यक्षमा देव रुम्बा चयन हुनुभएको छ । यस अघि गएकाे पुस महिनामा अञ्जान लामाकाे स‌ंयाेजकत्वमा पार्टी गठन भएकाे थियाे । यस अघिका नेताहरु केन्द्रीय समितिमा क्रियाशील भएकाले नयाँ नेतृत्व चयन गरिएकाे बताइएकाे छ । 

पार्टीका अनुसार पुनर्गठनसँगै रामेछापमा संगठन विस्तारलाई थप तीव्रता दिने तयारी गरिएको छ । कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहमा पार्टीले गरिरहेका संगठनात्मक गतिविधिबारे समेत जानकारी गराइएको थियाे ।