काठमाडौं, असोज १७ । बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
नेपाल प्रहरीले शनिबार बिहान ६ः४५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार प्रभावित सडकखण्डको अवस्था यस्तो छ :
रसुवा
गत साउन १० गतेदेखि आएको बाढीका कारण रसुवाका सबै मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । ती सडकखण्ड अर्को सूचना नभएसम्म बन्द रहने जनाइएको छ ।
बेंसीसहर–खाङ्सार सडक
असोज ८ गतेदेखि आएको बाढीका कारण बेंसीसहर हुँदै खाङ्सार जाने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बेनी–जोमसोम सडक
असोज १० गते बिहान आएको पहिरोका कारण म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।
कालीगण्डकी कोरिडोर
कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिका–६ घुमाउरीघाट र बौदीकाली गाउँपालिका–३ जन्तीमा पहिरो खसेपछि सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा छ । प्रहरीले उक्त सडकखण्डमा ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने जनाएको छ ।
सिमकोट–हिल्सा सडक
असोज १२ गते आएको पहिरोका कारण हुम्लाको सिमकोट–हिल्सा सडकखण्डअन्तर्गत नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुङ्गामा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रहरीले अवरुद्ध सडकखण्डमा तत्काल सहज रूपमा यातायात सञ्चालन हुन नसक्ने भएकाले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।












प्रतिक्रिया दिनुहोस्