जनता टाइम्स

१७ आश्विन २०८३, शनिबार ०८:५८

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पाँच एजेन्डामा छलफल हुने


काठमाडौं, असोज १७ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा बैठक बस्न लागेको हो ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषयमा छलफल हुनेछ ।

त्यस्तै, पार्टीका विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन गर्ने कार्यसूची पनि बैठकमा रहेको उहाँले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने भनिएको ‘हामी आउँदै छौँ’ अभियानका विषयमा पनि छलफल हुनेछ ।

यस्तै, मधेश प्रदेश संगठनको अडिट रिपोर्टमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

यी विषयसँगै बैठकमा विविध विषयमा समेत छलफल हुने रास्वपाले जनाएको छ ।