जनता टाइम्स

१७ आश्विन २०८३, शनिबार ०९:१८

मोरङकाे  लेटाङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु


मोरङ, असोज १७ । मोरङको लेटाङ नगरपालिका–९, हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शुक्रबार राति करिब १०ः३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक झापा घेराबारीका २७ वर्षीय कुमार नेपाली, पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे गाउँपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे र न्युरो अस्पताल विराटनगर पठाइएको थियो । उपचारका क्रममा कुमार नेपाली र सन्देश नेपालीलाई चिकित्सकले राति १२ बजे मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा घाइते अमर नेपालीको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।