काठमाडौं, असोज १७ । भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधबाट महाकाली नदीमा पानी छोड्न सुरु गरिएको छ ।
बाँधमा थुप्रिएको सिल्ट हटाउन शनिबार बिहान १ बजेदेखि ४८ घण्टाका लागि बाँधका ढोका खोलिएको हो । एनएचपीसी लिमिटेडअन्तर्गत धौलीगंगा पावर स्टेसनले असोज १९ गते बिहान १ बजेसम्म सिल्ट फ्लसिङ गर्ने जनाएको छ ।
सिल्ट फ्लसिङका क्रममा बाँधबाट पानीको बहाव बढ्ने भएकाले महाकाली नदीको जलस्तरसमेत बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । प्रशासनले नदी आसपास तथा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
शनिबार बिहान ६ बजे गरिएको मापनअनुसार शारदा ब्यारेज, बनबासामा महाकाली नदीको बहाव ४० हजार ५९९ क्युसेक रहेको छ । हाल बहाव स्थिर रहे पनि धौलीगंगाबाट छोडिएको पानी तल्लो तटीय क्षेत्रमा पुगेपछि बहाव थप बढ्न सक्ने प्रशासनले जनाएको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदीमा माछा मार्ने, दाउरा संकलन गर्ने तथा फोटो–भिडियो खिच्नेलगायतका गतिविधिका लागि नदी किनार वा नदीभित्र नजान प्रशासनले आग्रह गरेको छ ।
नदीको जलस्तरमा हुने परिवर्तनबारे स्थानीय प्रशासन तथा सुरक्षा निकायले निरन्तर निगरानी गरिरहेको जनाइएको छ । नदीमा जोखिम बढेको अवस्थामा तत्काल सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ ।
यसअघि असोज ११ र १२ गते धौलीगंगा बाँधबाट पानी छोडेर सिल्ट सफा गर्ने तयारी गरिएको थियो । तर लगातारको वर्षा र महाकाली नदीमा बढेको जलस्तरका कारण उक्त कार्य स्थगित गरिएको थियो । त्यसबेला शारदा ब्यारेजमा महाकालीको बहाव १ लाख ७७ हजार ९०२ क्युसेकसम्म पुगेको थियो ।
महाकालीको बहाव घटेपछि अहिले बाँधमा थुप्रिएको सिल्ट सफा गर्ने उद्देश्यले पानी छोडिएको हो । धौलीगंगाबाट आएको पानी महाकाली हुँदै तल्लो तटीय क्षेत्रमा पुग्ने भएकाले दार्चुलादेखि कञ्चनपुरसम्म नदी आसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्