जनता टाइम्स

१७ आश्विन २०८३, शनिबार १५:०९

शीर्ष नेता एकसाथ उभिने थलो बन्दै कांग्रेस महाधिवेशन, ओली-प्रचण्डदेखि रवि-राजेन्द्रसम्म आउने निश्चित


काठमाडौं, असोज १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १५औं महाधिवेशनको उदघाटन समारोह मुलुकका सवै दलललाई एक ठाउँमा उभ्याउने थलो बन्ने भएको छ ।

फागुन २१ को निर्वाचनसँगै बिभाजित राजनीतिक दलका नेतृत्व कांग्रेस महाधिवेशनमा भने एकसाथ उभिने भएका हुन । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आइतवार अर्थात भोलि काठमाडौंको खुल्लामञ्चमा उदघाटन हुँदैछ । उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्।

असोज २२ गतेसम्म हुने महाधिवेशनको उदघाटनमा शुभकामना दिन विभिन्न राजनीतिक दलका नेतृत्वलाई कांग्रेसले निम्तो दिएको थियो । निम्तोअनुसार सवै दलका प्रमुख नेता नै सहभागी हुने भएका हुन ।

कांग्रेस महाधिवेशनमा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुने निश्चित भएको छ ।

यसअघि सत्तारुढ दल रास्वपाको प्रथम महाधिवेशनमा भने ओली र प्रचण्ड सहभागी हुनुभएको थिएन । कांग्रेस सभापति गगन थापा भने सहभागी हुनुभएको थियो । यसैगरी श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल पनि उद्घाटन कार्यक्रममा सहभागी हुने तय भएको छ ।

कांग्रेसका अनुसार अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता पनि सुनिश्चित हुने क्रम जारी छ। सोसलिष्ट इन्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आइसक्नुभएको छ ।