काठमाडौं, असोज १७ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निर्वाचन क्षेत्र सर्लाही–४ बाट एकै परिवारका चार जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट सर्लाहीका पूर्वसभापति सुरेन्द्रप्रसाद सिंहको परिवारका चार जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । सर्लाही–४ को क्षेत्रीय अधिवेशनबाट उनीहरू सबै सर्वसम्मत चुनिएको घोषणा गरिएको हो ।
धनकौल–२ का सिंहसँगै वीरेन्द्रप्रसाद सिंह, बेबी सिंह र सुधीरकुमार सिंहको नाम सर्लाही–४ बाट चयन भएका महाधिवेशन प्रतिनिधिहरूको सूचीमा उल्लेख छ । वीरेन्द्र पूर्वसभापति सुरेन्द्रका सहोदर भाइ हुनुहुन्छ । उहाँ मधेश प्रदेश कार्यसमितिका उपसभापति हुनुहुन्छ । यस्तै बेबी पूर्वसभापति सुरेन्द्रकी श्रीमती र सुधीर छोरा हुनुहुन्छ ।
सर्लाही कांग्रेस स्रोतका अनुसार पूर्वसभापति सुरेन्द्रका दुई जना भिनाजु पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन प्रतिनिधमा चयन भएका केदारनन्दन चौधरी र रविनन्दन चौधरी सुरेन्द्रका भिनाजु हुनुहुन्छ ।
भ्रष्टचार मुद्दामा अदालतले दोषी ठहर गरेपछि सुरेन्द्रले २०८२ भदौ पहिलो साता जिल्ला सभापतिबाट राजीनामा दिनुभएको थियो । उहाँबिरुद्ध विशेष अदालतबाट २०७१ पुस २५ मा मनुसमरा सिँचाइ आयोजना क्षेत्रका रुख कटान गर्दा भ्रष्टाचार गरेको ठहर भएको थियो ।












प्रतिक्रिया दिनुहोस्