जनता टाइम्स

१७ आश्विन २०८३, शनिबार १८:५२

सरकारबाट देशलाई असाधारण संकटतर्फ धकेल्ने दुश्प्रयासहरू भइरहेको छ, अब निर्मम बन्नैपर्छ : प्रचण्ड


काभ्रे, असोज १७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अवस्था बदलिएको भन्दै पुरानै तरिकाबाट अघि बढेर नहुने बताएका छन् ।

शनिबार काभ्रेको एकता बैठकलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो बताउनु भएको हो । उहाँले गत वर्ष भएको जेनजी आन्दोलनपछि देश सहज अवस्थामा अघि नबढेको तथ्यसमेत सुनाउनु भयो । जेनजी आन्दोलनपछि अहिलेसम्म आइपुग्दा देशलाई असाधारण संकटतर्फ धकेल्ने दुस्प्रयासहरू भइरहेको दाहालको निश्कर्ष छ ।

‘गत वर्ष भदौ २४ गतेको प्रतिगामी विध्वंसपछि देश सहज अवस्थामा अघि बढिरहेको छैन । अहिलेसम्म आइपुग्दा देशलाई असाधारण संकटतर्फ धकेल्ने दुश्प्रयासहरू भइरहेका छन्,’ बैठकमा दाहालले भन्नुभयो, ‘यस्तो परिस्थितिमा त्यसका विरुद्ध तथा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हामीले अझ दृढतापूर्वक संघर्ष गर्नुपर्ने अवस्था छ ।’

उहाँले अहिलेको चुनौतीको सामना गर्नका लागि कम्युनिस्ट शक्तिहरूबीच एकता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच सहकार्य आवश्यक रहेको निचोड पनि सुनाउनु भयो ।

‘बदलिएको परिस्थितिमा पुरानै तरिकाले अघि बढेर हुँदैन । आजको चुनौतीको सामना गर्न सच्चा कम्युनिस्ट शक्तिहरूबीच पार्टी एकता र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच सहकार्य गर्दै अघि बढ्नुपर्छ,’ प्रचण्डले भन्नुभयो ।

यस्तै उहाँले विगतमा गरेका कामको पनि वस्तुनिष्ठ समीक्षा हुनुपर्ने बताउनु भयो । गणतन्त्र आएपछि केही पनि भएन भन्ने कुरा इतिहास र तथ्यसँग मेल नखाने भन्दै दाहालले यस्तो धारणा राख्नुभएको हो ।

‘सामन्ती राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा देशलाई रूपान्तरण गर्ने राजनीतिक प्रक्रियामा हामीले महत्वपूर्ण भूमिका खेलेका छौं । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भयो र त्यसपछि तीनै तहका निर्वाचन सम्पन्न भएर संघीय संरचना कार्यान्वयनको आधार तयार भयो,’ दाहालको भनाई थियो ।

आफ्नो नेतृत्वमा बनेको सरकारले गरेका कामहरूलाई जनताले तथ्यका आधारमा हेर्नुपर्ने भन्दै दाहालले गणतन्त्र आएपछि केही पनि भएन भन्ने भाष्य सही नभएको बताउनु भयो ।