चितवन, असोज १७ । बाढीका कारण बगरमा परिणत भएको नारायणी नदी किनारमा व्यापारीहरू फर्कन थालेका छन्। नदी पुरानै लयमा फर्किएसँगै किनारमा व्यापारिक चहलपहल पनि बिस्तारै सुरु हुन थालेको छ।
असोज ९ देखि १२ गतेसम्म उर्लिएको नारायणी नदी अहिले शान्त बनेपछि महानगरपालिकासँग छलफल गरेर व्यवसायीहरू पुनः व्यापारमा फर्किएका हुन्। शनिबार बिहान केही व्यापारी ठेला डोरीले तान्दै थिए भने केही प्याज ताछ्न व्यस्त देखिन्थे।
बाढीअघि बाक्लो चहलपहल र फोटो खिच्नेको भीड हुने नारायणी किनार अहिले ढुंगा र हिलोले भरिएको छ। करिब १५० देखि २०० साना ठेला व्यवसायीको रोजीरोटी जोडिएको क्षेत्रमा साना ठेला किनारका छेउछाउमा राखेर व्यापार गर्ने प्रयास भइरहेको छ भने ठूला ठेला बाटो र पार्किङमै थन्किएका छन्।
व्यवसायीहरूले भरतपुर महानगरपालिकालाई कर तिरेर व्यापार गर्दै आएका छन्। महानगरपालिकाले किनारमा व्यापार सहज हुने गरी आवतजावतका लागि बाटो बनाइदिने प्रतिबद्धता जनाएको छ।
नारायणी किनारमा विगत १० वर्षदेखि व्यापार गर्दै आउनुभएकी तारादेवी परियार पनि बाढीपछि ठेला लिएर फर्किनुभएको छ। बाढीले व्यापार गर्ने ठाउँ नै तहसनहस पारेको भन्दै उहाँले अहिलेको अवस्था देख्दा दुःख लागेको बताउनुभयो।
उहाँको तीन जनाको परिवार यही व्यापारमा आश्रित छ। तर, अहिले दैनिक लगानीसमेत उठाउन कठिन भइरहेको उहाँले बताउनुभयो। चटपटे र ममका लागि प्याज, मैदा, मासु, मसला र पानीलगायत सामग्री खरिद गर्दा दैनिक करिब तीन हजार रुपैयाँ खर्च हुने भए पनि अघिल्लो दिन दुई हजार रुपैयाँको मात्र व्यापार भएको उहाँले बताउनुभयो।
नारायणी किनारमा पाका व्यवसायीसँगै आफ्नै ठाउँमा भविष्य खोजिरहेका युवाहरू पनि व्यवसायमा छन्। बिहान स्नातक तहको अध्ययन गर्ने र दिउँसो ठेला चलाउने गैँडाकोटकी ज्योति पौडेल र उहाँका दुई दिदीबहिनी पाँच वर्षदेखि यहाँ फास्टफुड व्यवसाय गर्दै आउनुभएको छ।
विदेश जानुभन्दा आफ्नै ठाउँमा केही गर्ने उद्देश्यले ठेला व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो। तर, बाढीपछि मानिस आवतजावत गर्ने ठाउँसमेत प्रभावित भएकाले व्यापारमा ठूलो असर परेको उहाँको भनाइ छ।
व्यापार घटे पनि साना व्यवसायीमाथि स्थानीय शुल्कको भार भने कायमै रहेको व्यवसायीहरूको गुनासो छ। पोखराबाट भरतपुर आएर भाडामा बस्दै पाँच वर्षदेखि ठेला चलाउँदै आउनुभएकी पवित्रा अधिकारीले व्यापार भए पनि नभए पनि महानगरपालिकालाई मासिक दुई हजार पाँच सय रुपैयाँ र फोहोर व्यवस्थापनबापत दुई सय रुपैयाँ बुझाउनुपर्ने बताउनुभयो।
नारायणी किनारमा बाढीपछि व्यापारिक गतिविधि सुरु हुन थाले पनि पूर्वाधारमा भएको क्षति र घटेको पर्यटकीय चहलपहलका कारण व्यवसायीहरू तत्काल पुरानै अवस्थामा फर्कन नसक्ने देखिएको छ।












प्रतिक्रिया दिनुहोस्