जनता टाइम्स

१७ आश्विन २०८३, शनिबार २०:५४

एमाले–नेकपा सहकार्य प्रदेशमा सीमित नराखेर निर्वाचनसम्म विस्तार गर्नुपर्छ : प्रचण्ड


काठमाडौं, असोज १७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा भइरहेको नेकपा र एमालेबीचको राजनीतिक सहकार्यलाई आगामी स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्ने बताउनुभएको छ।

शनिबार धुलिखेलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारमा भइरहेको सहकार्यलाई सरकार सञ्चालनमा मात्र सीमित नराखी राजनीतिक तथा वैचारिक रूपमा थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “यो सहकार्यलाई प्रदेश सरकारमा मात्रै होइन, आउने दिनमा सदनभित्रको बहसमा र निर्वाचनसम्म सुदृढ गर्दै लैजानुपर्ने हुन्छ।”

बदलिँदो राजनीतिक परिस्थितिअनुसार संगठन विस्तारलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो।

सूचना प्रविधिको प्रयोगमार्फत पार्टीको विचार र संगठन विस्तार गर्न सकिने उल्लेख गर्दै प्रचण्डले उपलब्ध जनशक्ति, संगठन र क्षमताको प्रभावकारी उपयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।