जनता टाइम्स

१७ आश्विन २०८३, शनिबार २०:५८

कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख अतिथि बन्न देउवालाई गगनको निम्तो


काठमाडौं, असोज १७ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवालाई निमन्त्रणा पठाउनुभएको छ।

शनिबार साँझ सभापति थापाको निमन्त्रणापत्र लिएर कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरी र सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरी देउवा निवास चुनदेवी पुग्नुभएको थियो।

देउवाका स्वकीय सचिव भानु देउवासँग फोनमा कुराकानी गरेपछि दुवै जना निमन्त्रणापत्र लिएर चुनदेवी पुग्नुभएको थियो। तर साँझ करिब ६ बजे देउवा निवास पुग्दा भानु देउवा बाहिर निस्किसक्नुभएकाले भेट हुन नसकेको सहमहामन्त्री योगेन्द्र चौधरीले बताउनुभयो।

त्यसपछि उहाँहरूले देउवा निवासको गेटमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई निमन्त्रणापत्र बुझाउनुभएको थियो।

चौधरीका अनुसार निमन्त्रणापत्रमा महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित हुन देउवालाई आग्रह गरिएको छ।

कांग्रेसको १५औँ महाधिवेशन देउवाबाटै उद्घाटन गराउने योजना रहेको चौधरीले बताउनुभयो। यद्यपि देउवा उद्घाटन समारोहमा सहभागी हुने वा नहुनेबारे टुंगो लागिसकेको छैन।

कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ। यसैबीच देउवा पक्षले भने छुट्टै महाधिवेशनका कार्यक्रम अघि बढाएको छ।