जनता टाइम्स

१७ आश्विन २०८३, शनिबार २१:००

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा


काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। महाधिवेशनको उद्घाटन आइतबार दिउँसो २ बजे काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा हुँदैछ।

कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा महाधिवेशन हुन लागेको हो। यही टुँडिखेलमा कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनको सफलताको उद्घोष गर्नुभएको थियो।

महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्नुहुनेछ। उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेताका साथै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

महाधिवेशन तयारीबारे आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले नवपुस्ताका ४४ हजार युवा पार्टीको विभिन्न जिम्मेवारीमा आएको र उनीहरूसहित सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने बताउनुभयो।

गत पुस २८ देखि माघ ३ गतेसम्म सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनपछि १५औँ महाधिवेशन हुन लागेको हो। यस महाधिवेशनबाट ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीलाई पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्वको अवसर मिल्ने बताइएको छ।

‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ महाधिवेशनको मूल मन्त्र राखिएको छ। प्रवक्ता चालिसेका अनुसार बन्दसत्रमा नयाँ सङ्कल्पका विषयमा गहन छलफल गरी कार्यान्वयनको खाका तयार गरिनेछ।

महाधिवेशनमा देश तथा विदेशबाट करिब सात हजार पाँच सय प्रतिनिधि सहभागी हुने पार्टी कार्यालयले जनाएको छ। शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रतिनिधिको दर्ता प्रक्रिया सुरु भएको छ। प्रतिनिधिले सहभागिता दर्ताबापत तीन हजार पाँच सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकेर प्रतिनिधिको बसोबास व्यवस्थापनमा समन्वय गरिरहेको जनाएको छ। आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ।

उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन पेस गर्नुहुनेछ। प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूहमा विभाजन गरी तीनवटा हलमा छलफल गराइनेछ।

निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ। मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ। निर्वाचन कार्यक्रम आवश्यकताअनुसार परिमार्जन हुन सक्ने समितिले जनाएको छ।

महाधिवेशनमा सहभागी हुने निजी कार तथा मोटरसाइकलका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ। ठूला बसका लागि माइतीघरदेखि भद्रकाली खण्डको एक लेनमा पार्किङ व्यवस्था मिलाइएको छ।

महाधिवेशनसम्बन्धी सूचना तथा जानकारी प्रवाह गर्न खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरिएको छ।