जनता टाइम्स

१७ आश्विन २०८३, शनिबार २१:०२

सामाजिक सद्भाव र सहअस्तित्व सिकाउने शिक्षा आवश्यक : राष्ट्रपति पौडेल


काठमाडौं, असोज १७ । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक शिक्षाले सामाजिक सद्भाव, सहअस्तित्व र विविधताको सम्मान गर्ने भावना विकास गर्नुपर्ने बताउनुभएको छ।

ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षा परीक्षामा राम्रो नतिजा ल्याउने र प्रमाणपत्र हासिल गर्ने माध्यममा मात्र सीमित हुन नहुने बताउनुभयो।

सूचना प्रविधिको तीव्र विकास भइरहेको वर्तमान समयमा कस्तो जनशक्ति आवश्यक छ भन्ने पहिचान शैक्षिक प्रणालीले गर्नुपर्ने उहाँको भनाइ छ।

देशभित्रै उत्पादनशील रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन गर्न तथा निर्यात प्रवर्द्धनमा सहयोग पुर्‍याउने खालको व्यावहारिक शिक्षा आवश्यक रहेकोमा राष्ट्रपति पौडेलले जोड दिनुभयो।

बहुभाषिक तथा बहुसांस्कृतिक विशेषता भएको नेपालमा शैक्षिक संस्थाहरूले विविधताको सम्मान गर्दै राष्ट्रिय एकता, करुणा र अनुशासनको भावना विकास गर्नुपर्ने उहाँले बताउनुभयो।