जनता टाइम्स

१७ आश्विन २०८३, शनिबार २१:०६

पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियो : कमल थापा


काठमाडौं, असोज १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले २०६४ सालको पहिलो संविधानसभा निर्वाचन हुनुभन्दा करिब दुई साताअघि तत्कालीन नेकपा (माओवादी) का शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सहकार्यको प्रस्ताव पठाउनुभएको दाबी गर्नुभएको छ।

थापाले आफ्नो नयाँ पुस्तक ‘रिइम्याजिनिङ नेपाल’ मार्फत यस्तो दाबी सार्वजनिक गर्नुभएको हो। उहाँका अनुसार २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनको प्रचारप्रसार चलिरहेका बेला चैत ११–१२ गतेतिर डा. भट्टराईले उहाँसँग सम्पर्क गर्नुभएको थियो।

अमृत साइन्स कलेजका सहपाठीसमेत रहनुभएका डा. भट्टराईले काठमाडौंको बालाजुस्थित एक गोप्य स्थानमा आफूलाई भेटेर संविधानसभा निर्वाचनबाट फाइदा नहुने भन्दै राजालाई मनाएर माओवादी नेतृत्वमा सरकार गठन गराउन मध्यस्थता गरिदिन आग्रह गर्नुभएको थापाले उल्लेख गर्नुभएको छ।

उक्त सन्देश लिएर आफू नारायणहिटी दरबार पुगेपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रस्ताव डा. भट्टराईको मात्र हो कि प्रचण्डको पनि हो भनेर प्रश्न गर्नुभएको थापाको भनाइ छ। त्यसको भोलिपल्ट बिहान बालाजुमै प्रचण्ड र डा. भट्टराईसँग संयुक्त भेट भएको तथा प्रचण्डले समेत उक्त प्रस्तावको पुष्टि गर्दै राजासँग सहकार्यको वातावरण बनाउन आग्रह गर्नुभएको थापाको दाबी छ।

थापाका अनुसार सो छलफलका क्रममा माओवादी नेताहरूले कम्बोडियाको जस्तो मोडल वा ‘सांस्कृतिक राजा’को अवधारणासमेत अघि सार्नुभएको थियो। तर राजा ज्ञानेन्द्रले संसद्वादी लोकतान्त्रिक शक्तिलाई बाहिर राखेर माओवादीसँग मात्र सहकार्य नगर्ने अडान लिएपछि उक्त प्रयास त्यहीँ टुंगिएको थापाले पुस्तकमा उल्लेख गर्नुभएको छ।

त्यसको केही दिनपछि डा. भट्टराईले बुटवलको एक आमसभामा ‘सांस्कृतिक राजा’को प्रसंग सार्वजनिक रूपमा उठाउनुभएको विवरणसमेत थापाले पुस्तकमा समेट्नुभएको छ।

यसैगरी, पुस्तकमा २०६२/६३ को जनआन्दोलन उत्कर्षमा पुगेका बेला राजा ज्ञानेन्द्रले सत्ता हस्तान्तरण गर्ने निर्णय गरिसक्नुभएको दाबीसमेत गरिएको छ। थापाका अनुसार २०६३ वैशाख ६ गते नै कुनै मानवीय क्षति हुन नदिई सत्ता हस्तान्तरण गर्ने र पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सरकारको नेतृत्व सुम्पने तयारी गरिएको थियो।

भारतीय प्रधानमन्त्रीका विशेष दूत डा. कर्ण सिंह नेपाल आउनुअघि नै बाह्य दबाबबिना नेपालले आफ्नै निर्णयबाट राजनीतिक निकास निकालेको सन्देश दिन राजा ज्ञानेन्द्रले यस्तो रणनीति बनाउनुभएको थापाको दाबी छ।