काठमाडौं, असोज १८ । नेपालबाट यसवर्षको मनसुन क्रमशः बाहिरिन थालेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी अधिकांश भूभाग तथा गण्डकी प्रदेशका पश्चिमी केही भूभागबाट मनसुन बाहिरिसकेको छ।
महाशाखाले केही दिनमै नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने जनाएको छ। नेपालमा सामान्यतया जुन १३ तारिख अर्थात् जेठको अन्तिमतिर मनसुन भित्रिने र अक्टोबर २ अर्थात् असोज मध्यतिर बाहिरिने गर्छ।
यसवर्ष भने मनसुनी गतिविधि केही ढिलोसम्म कायम रहेको छ। मनसुन बाहिरिने क्रममा रहे पनि स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण आज केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना छ।
गएराति पूर्वी नेपालका झापा, सुनसरी, खोटाङलगायत केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो।












प्रतिक्रिया दिनुहोस्