जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार ०८:०१

बाढीपहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, कुनको अवस्था के छ ?


काठमाडौं, असोज १८ । बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।

नेपाल प्रहरीको अद्यावधिक तथ्याङ्कअनुसार रसुवामा असोज १० गते आएको बाढीका कारण मुख्य राजमार्गका सम्पूर्ण सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।

मनाङमा असोज १८ गते आएको बाढीका कारण बेंसीसहर हुँदै खाङसार जाने सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ।

म्याग्दीमा बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो गएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

नवलपरासीमा कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा असोज १० गते साँझ पहिरो गएपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ।

त्यस्तै, बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा असोज १४ गते गएको पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आए पनि ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था रहेको नेपाल प्रहरीले जनाएको छ।