जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार ०८:०५

कर्णाली राजमार्गमा सम्झौताअनुसार काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा


जुम्ला, असोज १८ । कर्णाली राजमार्ग, नाग्म–गमगडी सडक तथा जुम्ला हुँदै मनाङ–मुस्ताङ जोड्ने सडक निर्माण र स्तरोन्नतिको सम्झौताअनुसार काम नगर्ने छवटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्।

समयमै काम सम्पन्न नगरेका निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेपछि ती कम्पनी कालोसूचीमा परेका सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताउनुभयो।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम विनम्र निर्माण सेवा सुर्खेतलाई तीन वर्ष, ध्रुव निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतलाई दुई वर्ष र अविनाश निर्माण सेवा छायानाथ मुगुलाई एक वर्षका लागि कालोसूचीमा राखिएको उहाँले जानकारी दिनुभयो।

यसैगरी शङ्करमाली निर्माण सेवा काठमाडौँ र मान शाही निर्माण सेवा कालीकोटलाई तीन–तीन वर्ष तथा कश्यप निर्माण सेवा काठमाडौँलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको सडक डिभिजन कार्यालयका सबइन्जिनियर वीरेन्द्र रावलले बताउनुभयो।

शङ्करमाली निर्माण सेवाले नाग्म–गमगडी सडक र कश्यप निर्माण सेवाले जुम्ला हुँदै मनाङ–मुस्ताङ जोड्ने सडकको सम्झौताअनुसार काम गर्न नसकेपछि कालोसूचीमा परेका हुन्। बाँकी चार निर्माण कम्पनी कर्णाली राजमार्गअन्तर्गत कालीकोट क्षेत्रमा सडक स्तरोन्नति तथा निर्माणको ठेक्का समयमै सम्पन्न नगरेपछि कालोसूचीमा परेको कार्यालयले जनाएको छ।

कालोसूचीमा परेका निर्माण कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

जुम्लामा उद्योग खारेजी गर्ने बढे

जुम्लामा पछिल्लो समय उद्योग खारेजी गर्नेको सङ्ख्या बढ्दै गएको छ। आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा १८० उद्योग खारेज भएका छन् भने १८८ वटा नयाँ उद्योग दर्ता भएका छन्। सो अवधिमा ३३४ उद्योग नवीकरण भएका उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख टंकप्रसाद न्यौपानेले जानकारी दिनुभयो।

वाणिज्यतर्फ ६१ वटा उद्योग दर्ता, ५८ वटा नवीकरण र ५२ वटा खारेज भएका छन्। उक्त आर्थिक वर्षमा विभिन्न शीर्षकमा करिब १६ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो।

चालु आर्थिक वर्षको भदौसम्म ४३ वटा नयाँ उद्योग दर्ता भएका छन्। सो अवधिमा ११९ वटा उद्योग नवीकरण र पाँचवटा खारेज भएका छन्। वाणिज्यतर्फ ११ वटा उद्योग दर्ता भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार पछिल्ला चार वर्षदेखि जिल्लामा उद्योग दर्ता गर्नेको सङ्ख्या निरन्तर घट्दै गएको छ भने खारेजी गर्नेको सङ्ख्या बढ्दै गएको छ। दर्ता भएका उद्योगमा उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण तथा सूचना प्रविधिसम्बन्धी उद्योग रहेका छन्।