काठमाडौं, असोज १८ । दसैँ, तिहारलगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आ–आफ्नो स्थायी घर फर्किन थालेसँगै प्रमुख बसपार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहलपहल बढेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या क्रमशः बढ्दै गएको बताउनुभयो। उहाँका अनुसार यस वर्ष दसैँ–तिहारलगायतका चाडपर्वमा उपत्यकाबाट कम्तीमा आठ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार चाडपर्वको मुख्य समय नजिकिँदै जाँदा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप थप बढेको छ। यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकताअनुसार अतिरिक्त सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।
चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री, सवारीसाधनको अवस्था, भाडादर र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन बढाएका छन्। यात्रुलाई तोकिएको भाडा तिर्न र आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरिएको छ।
ट्राफिक प्रहरीले उपत्यकाका मुख्य सडक तथा बाहिरिने नाकामा सवारीसाधनको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ। सम्भावित भीडभाड हुने स्थानमा आवश्यक जनशक्ति परिचालन गरिने प्रवक्ता सुवेदीले बताउनुभयो।
दसैँ–तिहारका समयमा सार्वजनिक यातायातमा हुन सक्ने ठगी, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा असुरक्षित रूपमा सवारी सञ्चालन गर्ने गतिविधिमाथि समेत निगरानी बढाइने भएको छ।
सम्बन्धित निकायले घर फर्किने यात्रुलाई अग्रिम टिकटको व्यवस्था गर्न, सवारीसाधनको अवस्था बुझेर यात्रा गर्न तथा यात्राका क्रममा सावधानी अपनाउन आग्रह गरेका छन्।












प्रतिक्रिया दिनुहोस्