जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार ०८:१७

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, देउवा पक्ष भने बाहिर


काठमाडौं, असोज १८ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। खुलामञ्चमा उद्घाटन हुने महाधिवेशनमा पार्टीभित्र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण, नीति तथा संगठनात्मक पुनर्संरचनाका विषय मुख्य बहसमा रहने भएका छन्।

विशेष महाधिवेशनबाट सभापति निर्वाचित हुनुभएका गगन थापाको नेतृत्वमा हुन लागेको महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। पार्टीका पूर्वसभापति शेरबहादुर देउवा भने महाधिवेशन प्रक्रियाबाट बाहिर रहनुभएको छ। देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले यसपटकको महाधिवेशनलाई नेता छनोटमा मात्रै सीमित नगरी नीति छनोटलाई प्राथमिकता दिइएको बताउनुभयो। पदाधिकारी चयन सकेसम्म सर्वसम्मत गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो।

कांग्रेसको विधान र परम्पराअनुसार पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिएको उहाँले बताउनुभयो। तर, देउवा महाधिवेशनमा सहभागी नहुने जानकारी उहाँनिकट नेताले दिइसक्नुभएको छ। देउवा उपस्थित नभए सभापति थापाले महाधिवेशन उद्घाटन गर्ने तयारी छ।

महाधिवेशनमा आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र सभापति थापाले प्रस्तुत गर्ने तयारी छ। बन्दसत्रमा नीति, कार्यक्रम र समसामयिक प्रतिवेदनमाथि छलफल हुनेछ भने उम्मेदवारी मनोनयनअघि विधान संशोधन प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्ने तयारी छ।

महाधिवेशनको प्रतिनिधि दर्ता असोज १७ गतेदेखि सुरु भएको हो। असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका छ।

युवा पुस्ताको बढ्दो दाबी

यसपटकको महाधिवेशनमा युवा पुस्ताका नेताहरूको केन्द्रीय कार्यसमितिमा प्रवेशका लागि दाबी बढेको छ। कांग्रेसका विभिन्न तहका कार्यसमिति तथा भ्रातृ संस्थामा जिम्मेवारी सम्हालिसकेका युवा नेताहरूले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरिरहेका छन्।

महाधिवेशनमा १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिको कोटामा ४९५ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। कांग्रेसको विधानमा ३५ वर्षमुनिका लागि केन्द्रीय कार्यसमितिमा २१ सदस्यको व्यवस्था गरिएको छ।

सात प्रदेशबाट दुई–दुई जनाका दरले १४ जना निर्वाचित हुने तथा बाँकी सात जना सबै प्रदेशका मतदाताबीचको प्रतिस्पर्धाबाट निर्वाचित हुने व्यवस्था छ। प्रदेशबाट निर्वाचित हुने १४ मध्ये सात जना महिला हुनुपर्ने प्रावधान छ।

देउवा पक्षको छुट्टै महाधिवेशन

पूर्वसभापति देउवा पक्षले भने मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। देउवा पक्षले वडा अधिवेशनदेखि नयाँ प्रक्रिया सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने, असोज २० गते पालिका, असोज २३ गते प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका देउवा पक्षले अघि सारेको छ।

विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई लिएर देउवा पक्षले वैधानिकताको प्रश्न उठाउँदै आएको छ। यससँगै कांग्रेसमा कुन महाधिवेशन आधिकारिक हुने र कुन कार्यसमिति वैधानिक हुने भन्ने विवादसमेत कायमै छ।

कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै नीति, संगठनात्मक संरचना र युवा प्रतिनिधित्वका विषयमा समेत महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।