जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार ०८:१९

‘शिव सर्किट’ सञ्चालनमा ल्याउँदैछौँ, ‘कोइलाभित्र लुकेको हिरा’ विश्वसामु चम्काउँछौँ : मुख्यमन्त्री किरण थापा


काठमाडौं, असोज १८ । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक–पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’ परियोजना कार्यान्वयनको चरणमा अघि बढाएको जनाएकाे छ।

प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा परम्परागत सम्पदालाई पर्यटनसँग जोड्दै पर्यटकको बसाइ अवधि लम्ब्याउने र त्यसबाट मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्देश्यले शिव सर्किटको अवधारणा अघि सारिएको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बताउनुभएको हाे।

मुख्यमन्त्री थापाका अनुसार धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण भक्तपुरसहित बागमती प्रदेशमा रहेका शिवालय र शैव धार्मिकस्थललाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गरिनेछ। यसबाट तीर्थयात्री तथा पर्यटकलाई एउटै यात्रामार्फत विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने अवसर मिल्ने र प्रदेशका धार्मिक सम्पदाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुने उहाँको भनाइ छ।

“धार्मिक, सांस्कृतिक, पारम्परिक र ऐतिहासिक पर्यटकीय नगरी भक्तपुर तथा शिव सभ्यताको केन्द्रबिन्दु बागमती प्रदेशभित्र रहेका सम्पूर्ण पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एक परिपथ (शिव सर्किट) परियोजनामार्फत जोड्दै हाल कायम रहेको पर्यटकहरूको बसाइ अवधि लम्ब्याउने र राष्ट्रको जिडिपीमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्ने अवधारणा प्रदेश सरकारले कार्यान्वयनको चरणमा पुर्‍याएको छ,” मुख्यमन्त्री थापाले भन्नुभएको छ।

मुख्यमन्त्री थापाले बागमती प्रदेश केवल धार्मिक तथा सांस्कृतिक सम्पदाको क्षेत्र मात्र नभई ध्यान, योग र ज्ञानको प्राचीन भूमि भएको उल्लेख गर्नुभएको छ। नेपालमा पुस्तौँदेखि संचित ज्ञान, साधना, संस्कृति र ऋषिमुनिहरूको योगदानलाई विश्वसामु चिनाउनुपर्ने उहाँको भनाइ छ।

“ध्यान, योग र सम्पूर्ण ज्ञानको भूमि विश्वगुरु बन्ने क्षमता, दक्षता र अपार ज्ञान तथा निधि कैयौँ विद्वान् र ऋषिमुनिहरूको पवित्र यस भूमि कोइलाभित्र लुकेर बसेको हिराजस्तो भएको छ,” उहाँले भन्नुभएको छ।

नेपालको मौलिक ज्ञान, दर्शन, संस्कृति र आध्यात्मिक सम्पदालाई विश्वस्तरमा स्थापित गर्न अब त्यसलाई खोजी, संरक्षण र प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउनुपर्नेमा मुख्यमन्त्री थापाले जोड दिनुभएको छ। “अब हिरालाई कोइलाबाट बाहिर निकालेर विश्वसामु चम्काउने अभिभारा हाम्रो काँधमा आइपुगेको छ,” उहाँले भन्नुभएको छ।

प्रदेश सरकारले ‘शिव सर्किट’लाई धार्मिक पर्यटनको प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्र, रोजगारी, होटल तथा पर्यटन व्यवसाय र सांस्कृतिक सम्पदाको संरक्षणसँग जोड्ने लक्ष्य लिएको छ। परियोजना कार्यान्वयनमा आएपछि बागमतीका धार्मिक तथा ऐतिहासिक गन्तव्यलाई एउटै पर्यटन मार्गमा जोडेर लामो समयसम्म पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ।