काठमाडौं, असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र पनि काठमाडौंको खुलामञ्चमै सञ्चालन हुने भएको छ।
आज खुलामञ्चमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भोलिदेखि खुलामञ्चमै सुरु हुने पार्टीका उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ। उहाँका अनुसार बन्दसत्र पर्सिसम्म सञ्चालन हुनेछ।
बन्दसत्रमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। प्रतिनिधिहरूको व्यवस्थापनका लागि एक हलमा करिब ३ हजार प्रतिनिधि अट्ने गरी तीनवटा हल तयार पारिएको छ।
बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ। ती प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिहरूलाई समूह विभाजन गरी छलफल गराउने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।
प्रतिवेदनमाथिको छलफललाई प्रभावकारी र सहज बनाउन बन्दसत्र सञ्चालन हुने प्रत्येक हलमा डिजिटल बोर्डको व्यवस्था गरिएको छ।
एउटा हलमा भइरहेको छलफललाई अर्को हलमा रहेका प्रतिनिधिहरूले समेत डिजिटल बोर्डमार्फत प्रत्यक्ष रूपमा हेर्न र सुन्न सक्ने व्यवस्था मिलाइएको छ। यस व्यवस्थाले ठूलो संख्यामा सहभागी प्रतिनिधिहरूलाई प्रतिवेदनमाथिको छलफलमा सहज रूपमा सहभागी हुन तथा छलफलका विषयवस्तु प्रत्यक्ष रूपमा सुन्न र हेर्न सहयोग पुग्ने कांग्रेसको अपेक्षा छ।












प्रतिक्रिया दिनुहोस्