जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार १०:१०

मध्यराती बालिका अपहरण गर्ने युवकलाई गोली हानेर प्रहरीले समात्यो


रुपन्देही, असोज १८ । दश वर्षीया बालिकालाई अपहरण गर्ने व्यक्तिलाई बुटवल प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ।

तिलोत्तमा नगरपालिका वडा नं १७ दरखसवाका २७ वर्षीय विशाल भन्ने युवराज थारुलाई प्रहरीले गए राती गोली हानेरनियन्त्रणमा लिएको हो।

थारुले गत बुधवार राती तिलोत्तमाकै १० वर्षीय बालिकालाई सुतिरहेको अवस्थामा मध्यरात अपहरण गरेका थिए।
अपहरण गरिएको बालिकालाई प्रहरीले ३८ घण्टापछि शुक्रबार साँझ ७ बजेतिर कान्छी बजारस्थित जंगलबाट सकुशल उद्धार गरेको थियो।

बालिकालाई सकुशल उद्धार गरिएको भए पनि अपहरणमा संलग्न थारु फरार थिए। जंगलमै लुकेर बसिरहेको आशंकामा खोजी गरिरहेको प्रहरीले गए राति एक बजेतिर थारुलाई जंगलबाटै नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै जाईलागेपछि एक राउन्ड गोली प्रहार गर्न बाध्य भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार थारुको खुट्टामा गोली लागेको छ । थारुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

बालिका अपहरणमा परेपछि खोजी गर्दै जाँदा उनलाई उद्धार गरिएको स्थानमा भेटिएको मोबाइलको आधारमा प्रहरीले अपहरणमा संलग्न थारुको पहिचान गरेको थियो।

घरको बाहिर हजुरबुवा र हजुरआमा सुतिरहेको अवस्थामा भित्र कोठामा भाइसँग सुतिरहेकी बालिकालाई राती २ बजेतिर ओढ्ने ओढाइदिन भनेर जाँदा बिस्तारामा नभेटेपछि परिवारले तत्काल प्रहरीलाई जानकारी गराएको थियो।

त्यसपछि प्रहरीले बिहीबार बिहानैदेखि गाउँ वरपर र स्थानीय जंगल क्षेत्रमा खोजी सुरु गरेको थियो। जंगलबाट उद्धार गरिएकी बालिका सकुशल रहेको र आफ्नो सुरक्षामा रहेको बुटवल प्रहरीले जनाएको छ।