जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार १०:२६

सुनिल शर्माले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने घोषणा


काठमाडौं, असोज १८ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद डा. सुनिल शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

शर्माले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको हो । कांग्रेस नेता डा. शेखर कोइरालाका खम्बा मानिने शर्मा पछिल्लो समय बिशेष महाधिवेशनको पक्षमा उभिनुभएको थियो । उम्मेदवारी घोषणा गर्दै उहाँले बलियो कांग्रेस आफ्नो योजना रहेको बताउनु भएको छ ।

‘पदाधिकारीमा मैल महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ, शर्माले भन्नुभयो, हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’

शर्माले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्य सहित महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी पनि दिनुभयो ।

कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको शर्माको भनाई छ ।