रामेछाप, असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि रामेछापबाट महाधिवेशन प्रतिनिधि चयनमा पराजित भएपछि कांग्रेस नेता नारायणबहादुर खड्काले प्रतिनिधि छनाेट प्रक्रियामा अनियमितता भएकाे बताउनुभएकाे छ ।
खड्काले आफूलाई मत दिने तथा नदिने सबै क्षेत्रीय प्रतिनिधिलाई धन्यवाद दिँदै विजयी उम्मेदवारहरूलाई बधाई दिनुभएको छ। साथै, आफ्नो पराजयका पछाडि विभिन्न कारण रहेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्नुभएको छ।
खड्काले “विजयको सुनिश्चितता हुँदाहुँदै” आफूलाई पराजित गराइएकाे दाबी गर्दै मतदान प्रक्रियादेखि पार्टीभित्रको आन्तरिक गतिविधिसम्म विभिन्न विषयमा प्रश्न उठाउनुभएको छ। उहाँका अनुसार १ हजार ८ सय मतदाता रहेकोमा १ हजार ७ सय ११ मत खसेको थियो। मतदानस्थलमा अनुपस्थित रहेका करिब २ सय ३० मतदाताको नामबाट समेत आफू पराजित हुने निश्चित भएका चार जनाको पक्षमा मतदान गराइएको उहाँको आरोप छ। यस विषयमा आफूले समयमै ध्यान दिन नसक्नु गम्भीर त्रुटि भएको समेत उहाँले स्वीकार गर्नुभएको छ।
त्यसैगरी, आफूलाई मतदान गर्न तयार रहेका ९ वडाका करिब १ सय ५० मतदातालाई विभिन्न प्रभाव र दबाबमार्फत आफ्नो पक्षमा मतदान गर्नबाट रोकिएको खड्काको आराेप छ। मतदानपछि सम्बन्धित व्यक्तिहरूबाट आफूले यसबारे जानकारी पाएको उहाँले उल्लेख गर्नुभएको छ।
खड्काले आफूले लामो समयदेखि साथ दिँदै आएका केही युवा नेता तथा कार्यकर्तालाई समेत आफ्नो पक्षमा मतदान नगर्न प्रभाव पारिएको आरोप लगाउनुभएको छ। उहाँका अनुसार आफूले जिल्ला नेतृत्वमा पुर्याउने योजना बनाएका तथा चुनावमा सहभागी हुन प्रेरित गरेका केही व्यक्तिको नाममा मात्र मतदान गराउने गरी ‘सिन्डिकेट’ बनाइएको थियो।
उहाँले आफूलाई आगामी दिनमा सम्भावित चुनौतीका रूपमा हेरिएको र युवामाझ आफूलाई लक्षित गर्दै “अनुहार बिक्दैन, अब बुढा भए” भन्ने धारणा फैलाइएको आरोपसमेत लगाउनुभएको छ।
खड्काले निर्वाचनमा पैसाको प्रभाव प्रयोग भएको आरोप पनि लगाउनुभएको छ। उहाँले सीमित व्यक्तिको पक्षमा करोडौँ रुपैयाँको बलमा मतदान गराइएको दाबी गर्नुभएको छ। यद्यपि, उहाँले लगाउनुभएका यी आरोपबारे स्वतन्त्र पुष्टि हुन बाँकि छ ।
आफ्नै पक्षबाट समेत आफूले अपेक्षा गरेअनुसार सहयोग नपाएको उल्लेख गर्दै खड्काले आफ्नो गाउँका ५१ मतमध्ये करिब २६ मत आफ्नो पक्षमा ल्याउन सकिने अवस्था भए पनि त्यसो हुन नसकेको बताउनुभएको छ।
लामो राजनीतिक यात्राका क्रममा आफूले त्याग, निष्ठा, निरन्तरता र स्वाभिमानलाई कायम राखेको दाबी गर्दै खड्काले पछिल्लो निर्वाचन परिणामले आफ्नो करिब ४४ वर्षको सक्रिय राजनीतिक जीवनलाई विश्रामको अवस्थामा पुर्याएको टिप्पणी गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “बाल्य अवस्थादेखि आजसम्म कठिनभन्दा कठिन अवस्थामा ज्यान जोखिममा राखेँ, आर्थिकरूपले तहसनहस भएँ, तापनि मैले त्याग, निष्ठा, निरन्तरता र स्वाभिमान बचाएर राखेको छु भन्ने लाग्छ।”
खड्काले पार्टीभित्रको पद प्राप्तिका लागि भएको प्रतिस्पर्धाभन्दा गाउँ तथा जिल्लाको संगठन निर्माण महत्त्वपूर्ण रहेको उल्लेख गर्दै वर्तमान नेतृत्वप्रति समेत प्रश्न उठाउनुभएको छ। “पार्टीभित्रको पद त कब्जा गर्नुभयो तर गाउँ–जिल्लाको संगठन केही व्यक्तिले बाहेक तपाईँहरूबाट हुनेछैन, जो निकट भविष्यमा देखिन्छ नै,” उहाँले आफ्नो वक्तव्यमा उल्लेख गर्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्